काठमाडौँ-सङ्घीय संसद् प्रतिनिधिसभाको असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार भदौ महिनामा दुई दिन र असोज १ गतेदेखि १५ गतेसम्म सात दिन प्रतिनिधिसभाको बैठक बस्नेछ।
कार्यतालिकाअनुसार असोज १ गतेको बैठकमा शून्य समय, विशेष समय तथा संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय अधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी विषयमा सामान्य छलफल हुनेछ।
असोज ५ गते ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिनेछ। यस्तै असोज ६ गते शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर तथा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरिने कार्यसूची रहेको छ।
असोज ७ गते ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। त्यसैगरी असोज १३ गते शून्य समय, विशेष समय र संसद्मा दर्ता भएका ध्यानाकर्षण तथा सङ्कल्प प्रस्तावहरू प्रस्तुत गरिनेछन्। साथै असोज १ गते छलफल भएको सामुद्रिक जैविक विविधतासम्बन्धी विषयमा थप छलफल गरी अनुमोदनको प्रस्ताव अघि बढाइनेछ।
असोज १४ गते ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछ। यस्तै असोज १५ गते मन्त्रालयगत प्रश्नोत्तरका साथै ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफल तथा निर्णय प्रक्रिया अघि बढाइने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।




प्रतिक्रिया