अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढीले ९ हजार विद्यार्थी प्रभावित

भोटेकोशी बाढीले ९ हजार विद्यार्थी प्रभावित


काठमाडौं-भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीबाट क्षतिग्रस्त शैक्षिक संरचना पुनर्निर्माण तथा पठनपाठनलाई पूर्ववत् अवस्थामा फर्काउन करिब २ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ खर्च हुने सरकारी अनुमान छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन्।

प्रतिवेदनअनुसार ११ वटा विद्यालयका भवन पूर्ण रूपमा भत्किएका छन् भने सातवटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालयका भवनसँगै फर्निचर, शैक्षिक सामग्रीलगायतका सम्पत्ति नष्ट हुँदा ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

तत्कालका लागि साढे १० करोड आवश्यक

अवरुद्ध पठनपाठनलाई तत्काल सहज बनाउन र आवश्यक अस्थायी संरचना निर्माण गर्न मात्रै साढे १० करोड रुपैयाँ लाग्ने आकलन गरिएको छ।

त्यस्तै, शिक्षा क्षेत्रको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि २ अर्ब २३ करोड ८२ लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्राविधिक टोलीको निष्कर्ष छ।

प्रभावित विद्यार्थीलाई छात्रवृत्ति

बाढीका कारण पढाइबाट वञ्चित भएका विद्यार्थीलाई लक्षित गर्दै सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि सारेको छ।

सरकारी अभियानमा हातेमालो गर्दै निजी विद्यालयका पाँचवटा छाता संगठनले समेत प्रभावित विद्यार्थीका लागि १ अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

बाढीका कारण थातथलो छोड्न बाध्य भएका विद्यार्थीको शिक्षालाई निरन्तरता दिन उनीहरू हाल बसोबास गरिरहेको स्थानबाट पायक पर्ने नजिकका विद्यालयमा अध्ययनको व्यवस्था मिलाउन स्थानीय तहहरूले समन्वय गरिरहेका छन्।

सरकारले क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणसँगै विद्यार्थीको पठनपाठन नियमित बनाउन अस्थायी तथा दीर्घकालीन दुवै उपाय अघि बढाउने तयारी गरेको छ।