भक्तपुर – रूख ढलेर बस र स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएपछि भक्तपुर सल्लाघारीका जोखिमयुक्त २१ वटा रूख काटिएको छ ।
रूख ढलेर गत आइतबार बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई थिचेपछि तीनजनाको मृत्यु र १२ जना घाइते भएका थिए ।
रूख ढलेर ज्यानै गएपछि सडक छेउका २१ वटा रूख काटिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले जोखिमयुक्त रुखको ‘मार्किङ’ गरेपछि ती रूख काटिएका हुन् । प्रजिअ शर्माले भन्नुभयो, ‘विज्ञ टोलीले सल्लाघारी क्षेत्रको अनुगमन गरी जोखिमयुक्त २१ वटा रूख काटिएको छ, त्यस क्षेत्रमा अरू रुख पनि जोखिम रहेको कुरा आएको छ, स्कुल नजिक पनि त्यस्ता रूख छन् भन्ने कुरा आएको छ, यसबारेमा विज्ञ टोलीले निरीक्षण गरी त्यस्ता रूख भए अरु पनि काटिने छन् ।’
त्यस दुर्घटनामा घाइते भएका बिरामीको ख्वप मिनी बस सेवा समितिको खर्चमा उपचार गराइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छलफलमा ख्वप मिनी बसले घाइतेको उपचार गरिदिने सहमति भएपछि समितिले नै घाइतेको उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो ।
घाइतेमध्ये एकजना डिस्चार्ज भए पनि ११ जनाको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी र भक्तपर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उक्त घटनामा स्कुटर चालक सर्लाही हरिवन नगरपालिका–४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल, भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा र भक्तपुर नगरपालिका–७ घर भई चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्योको रुखले च्यापेर मृत्यु भएको थियो ।




प्रतिक्रिया