अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा विकसित तीन चरित्र र जनअपेक्षा

एमालेमा विकसित तीन चरित्र र जनअपेक्षा


काठमाडौं – धेरै भूमिका नबाधी कुरा थालौं । आसन्न संघ र प्रदेशको निर्वाचनका लागि कुन दलले को उम्मेद्वार बनाउँदैछ, के एजेण्डा लिएर जनतामा जाँदैछ भन्ने खासै जनचासो छैन । अधिक जनचासो छ त, नेकपा एमाले प्रति । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा देशैभरि सवै दल एकातिर र एमाले एक्लै एकातिर भएर पनि सम्मानजनक स्थान र सर्वप्रिय जनमत पाएकाले पनि उसै प्रति जनचासो र अपेक्षा हुनु स्वभाविक पनि हो ।

बहुदलीय व्यवस्थाको घोषणासँगै माक्र्सवादी र माले एकिकरण भएर बनेको एमालेले त्यसैबेला देखि आफूलाई कार्यकर्तामा आधारित पार्टीको रूपमा विकास गर्‍यो । मूल पार्टी मात्रै होइन जनवर्गीय संगठनहरूको गठन, विकास र परिचालन एमालेका लागि कार्यकर्ता ‘स्कूलिङ’को ठूलो आधार बन्यो। यस्तै विभिन्न सामाजिक संघ, संस्था, समिति आदिमा पनि एमालेले आफ्ना कार्यकर्तालाई व्यवस्थित रूपमा स्थापित गर्न सक्यो । अझ भनौं, समाजमा एमालेको अनुशान र मर्यादामा हुर्किएका कार्यकर्ताहरुनै रुचाइए । त्यसैले राजनीतिक परिदृष्यमा मात्र होइन, सामाजिक रूपमा पनि एमाले स्थापित भयो ।
माथि उल्लेखित विषय, नियमित प्रशिक्षण, अनुशासनको परिधी, बलियो संगठन र परिचालन जस्ता विषयकै जगले एमालेलाई बलियो जरा भएको वृक्षको रूपमा स्थापित गर्‍यो । त्यही वृक्ष वरीपरी जनवर्गीय संगठनको रूपमा स्थापित चौतारीहरूमा पार्टी पद्धति, अनुशासन, जिम्मेवारी आदिबारे छलफल हुँदै आयो । र त, एमाले बन्यो । यिनै मेहनतका आधारका कारण गत स्थानीय निर्वाचनमा पनि एमाले एक्लै लड्यो र सम्मानजनक स्थान हासिल ग¥यो ।

मूल पार्टी मात्रै होइन जनवर्गीय संगठनहरूको गठन, विकास र परिचालन एमालेका लागि कार्यकर्ता ‘स्कूलिङ’को ठूलो आधार बन्यो। यस्तै विभिन्न सामाजिक संघ, संस्था, समिति आदिमा पनि एमालेले आफ्ना कार्यकर्तालाई व्यवस्थित रूपमा स्थापित गर्न सक्यो । अझ भनौं, समाजमा एमालेको अनुशान र मर्यादामा हुर्किएका कार्यकर्ताहरुनै रुचाइए । त्यसैले राजनीतिक परिदृष्यमा मात्र होइन, सामाजिक रूपमा पनि एमाले स्थापित भयो ।


एमालेमा विकसित तीन चरित्र
नेकपा एमालेमा अहिले तीनवटा चरित्र विकास भएका छन् । पार्टी बनाउने, पार्टी बचाउने र पार्टी चलाउने । यी तीन चरित्र एउटै व्यक्तिमा पनि हुन सक्छ । यस्तो चरित्र अध्यक्ष केपी शर्मा ओली र उहाँका केही समकालिनमा छ । त्यो पुस्ताले पार्टी बनायो, बचायो र चलाइ पनि रहेको छ।

अर्को चरित्र पार्टी बचाउने । पार्टी बचाउने चरित्र ती कार्यकर्तामा छ, जो भुमिगत कालमा पनि जीवन दाउमा राखे, खटिए, संगठन बनाए । कैयौं वर्ष जेल-नेल खेपे । यातना सहे । ती मध्ये केही राजनीतिको मूल प्रवाहबाट किनारा लागे । केही क्रियाशिल छन् । अनि पार्टी बचाउने चरित्र यी कार्यकर्ता पनि छ, जसले पार्टी बनाउनेहरूलाई आदर्श माने, पञ्चायतकाल देखिनै खटिए । समर्पण गरे । पार्टीमा खासै आशा पनि गरेनन्, नपाएको गुनासो पनि गरेनन् । माओवादीकालमा पनि सरकार र विद्रोही दुवैको सामना गरे । जनताकै विचमा रहे र पार्टी बचाए, एमाले बनाए ।

अर्को तेस्रो चरित्र भनेको पार्टी चलाउने । माथि उल्लेखित चरित्र भएका नेता कार्यकर्ताहरूले नै हो पार्टी चलाउने पनि । तर पार्टी चलाउने कुरा निष्ठा, आदर्श, त्याग, बलिदान, अनुशासनले मात्र नहुँदो रहेछ । यो वैश्ययुगमा पार्टी चलाउने कुरा हिजो जनताको विश्वास जित्ने, संगठन बनाउने, परिचालन गर्ने जस्ता कुराले मात्र नहुँदो रहेछ । प्रतिष्पर्धी राजनीतिक बजारमा पार्टी चलाउन र टिकाउन अनेक प्याकेजहरू पनि ल्याउनै पर्ने रहेछ । त्यस्ता प्याकेज भित्र परि रहेको छ्, पार्टी भित्रिने र भित्र्याउने लहर ।
पार्टी बनाउन र बचाउन समर्पित हुनेहरू माथि पार्टी चलाउने चरित्र हावी हुँदै जाँदा अघिल्ला दुई चरीत्रका कार्यकर्ताले उपेक्षित महसूस गर्नु हुँदैन । पार्टी सञ्चालन पद्धतिमा विकास भएका शैली र आवश्यकताहरूबारे उनीहरूलाई ‘कन्भिन्स’ गर्न जरूरी हुन्छ । अनि पार्टी चलाउनकै लागि विकसित चरीत्रलाई पनि बुझाउन जरूरी छ कि, पार्टी बनाउने र बचाउने चरित्रको योगदान के थियो र छ भनेर । यी तीन चरित्रको अन्तर संघर्षबाट पार्टीलाई जोगाउन नेतृत्व पनि चनाखो हुन जरूरी छ ।

अन्तर सम्बन्धको विकास जरूरी
पार्टी प्रवेश र बहिर्गमन पार्टी निर्माणको आधार होइन । यो त पार्टी चलाउने एउटा औजार मात्र हो । नियमित प्रकृया हो । पहिलो संविधानसभा देखि विभिन्न मन्त्रीपरिषद विस्तारका सम्मुखमा एमाले बनेकाहरूको चरित्र एकपटक स्मरण गरे पनि यो कुरा पुष्टि हुन्छ । हिजो पार्टी चलाउनकै लागि एमाले बनेका-बनाइएकाहरू आज कहाँ छन् ? सांसद वा मन्त्री हुन र बनाउनकै लागि एमाले बनेका र बनाइएकाहरू कहाँ पुगे ? पार्टी निर्माणमा कति योगदान गरे ? विगततिर फर्किन जरूरी छ । तर यसो भन्दैमा पार्टी चलाउने चरित्रमा पनि पार्टी बनाउने र वचाउने चरित्र विकास गर्न नसकिने होइन । उसलाई पार्टी निर्माणको अभियानमा जोड्न सकिन्छ । कोही व्यक्ति ढिलो एमाले भयो भन्दैमा उसमा पार्टी बनाउने र बचाउने चरित्र विकास र निर्माण गर्न नसकिने होइन ।

संगठन निर्माण, परिचालन, प्रशिक्षण, नीति विकास, छलफल र अन्तरक्रिया, जनतासँगको अन्तरघुलन र सामिप्यता, आधारभूत वर्गसँगको सम्बन्ध विकास जस्ता कुराहरूमा जोड्न सकिएमा हरेक पार्टी कार्यकर्तामा पार्टी बनाउने, बचाउने र चलाउने चरीत्रको विकास हुन सक्दछ । यदि पार्टी भित्र, पार्टी चलाउने चरीत्र त्यसैमा सिमित भयो र उसले पार्टी बनाउने तथा बचाउने चरीत्रलाई अब मूल्यांकन गर्दै गयो भने अर्को जोखिम निम्तिन सक्छ । पार्टी बनाउने र बचाउनेलाई पार्टीसँग खासै ठुलो सौदावाजी केही हुँदैन । उसले भोगेको अपमान र गलत चरित्रले आफू माथि गरेको राजनीतिक र सांगठानिक शासनका विरुद्ध उसको मौनतानै काफी हुन्छ ।

चुनाव आउँदैछ, यस्तो बेलामा त पार्टी भित्र विकसित तीनै चरित्र समान रूपमा परिचालित हुन जरूरी छ । यदि पार्टी बनाउने र बचाउने चरित्र अलिकति मात्रै पनि निष्कृय भई दियो भने त्यसको प्रभाव ठूलो मतदाता संख्यामा पर्न सक्छ । पार्टी निर्माण र सञ्चालनमा वर्षौ योगदान पुर्‍याएको एमाले एउटा सामान्य कार्यकर्ता पनि अझै सम्म हरेक गाउँको एउटा विश्वासिलो र भरोसा योग्य पात्रको रुपमा स्थापित छ । मतदानकालागि उसको संकेत पर्खिएर बस्ने धेरै हुन्छन् । पार्टी बनाउन र बचाउन कुनै योगदान नगरेको तर अहिले पार्टी चलाउने प्रकृयामा मात्र सामेल व्यक्ति एउटा गाउँमा गएर जतिनै मेहनत गरे पनि अघिल्ला दुई चरित्रको सामान्य ईसारानै काफि हुन्छ । पार्टी बनाउने र बचाउनेहरू चुप लागि दिने र चलाउनेहरू मात्रै गाउँ पसे भने– ‘हिजो सम्म कहाँ थियो कहाँ, अहिले आएर एमाले हुँ भन्दै गाउँमा चुरीफुरी गर्छ, पार्टीमा वर्षौदेखि लागेका फलनाहरूको हालत त्यस्तो छ’ भनेर कुरा काट्न सक्छन् । अविश्वास सिर्जना हुन सक्छ । त्यसैले अरु बेला जस्तो मात्रै होइन, यो निर्वाचनको संघारमा त यि तीनै चरित्र-पार्टी बनाउने, बचाउने र चलाउनेको बीचमा अन्तर सम्बन्ध विकास गर्न जरूरी छ ।

कसरी टिक्यो एमाले ?
२०४९ र २०५४ का स्थानीय निर्वाचनले देशैभरि एमालेका हजारौ कार्यकर्तालाई नेताको रूपमा स्थापित बनायो । बहुदलिय व्यवस्थाको प्रारम्भिक चरणमै लामो समय भुमिगत संगठन सञ्चालन गरेको पार्टी र त्यसका कार्यकर्ता मतदानको माध्यमबाट सर्वाधिक लोकप्रिय रुपमा दर्ज हुनु सामान्य कुरा मात्र थिएन । एमाले भित्रको अनुशासन, मर्यादा, संगठन पद्धति, जनतासँगको अन्तरसम्बन्धको परिणाम थियो । त्यस बीचमा बनेको एमालेको नौ महिने सरकार, त्यसले नेपालको विकास पद्धतिमा ल्याएको छलाङ र सरकारको निश्कलङ्क अवतरण पनि एमालेको पुँजीको रूपमा विकास भयो ।

खासगरी जिल्ला, वडा र टोल तहसम्म एमाले सग्लो, कञ्चन र जीवन्त रहनुको मुख्य कारण दुई वटा स्थानीय तहको निर्वाचनमा एमालेका स्थानीय जनप्रतिनिधिहरूले आर्जन गरेको विश्वास पनि हो । २०५९ देखि स्थानीय तह डेढ दशकसम्म रिक्त हुँदा पनि कार्यकाल सकिएका जनप्रतिनिधिहरू उसैगरी खटिए । गाउँ-घरमा हुने विकास, विवाद, अड्को–पड्को हरेक कुरामा एमालेबाट निर्वाचित भएर निवर्तमान भएका जनप्रतिनिधिहरूकै खोेजी भयो । माओवादी युद्धको भुङ्ग्रो फैलिएको बेला पनि अधिकांश एमालेका जनप्रतिनीनिधि र पूर्वजनप्रतिनिधिहरुले गाउँ छोडेनन् । जनताका समस्याबाट भागेनन् । माओवादीको बन्दुकको नाल आफैं तिर सोझिएका बेला पनि एमालेका पूर्व जनप्रतिनिधीहरुले त्यसको सामना गर्दै जनताकै विचमा रहे । अर्थात, माओवादी युद्धकालमा पनि एमालेलाई आधारभूत वर्गका विचमा जीवित राखे । पार्टी जीवन्त बनाए । त्यसैले त एमाले बन्यो । एमाले रहयो ।

पञ्चबन्धन (पाँच दलीय गठबन्धन) का सनकमा भरमा देश जति चल्छ, विकास र समद्धि उत्तिनै पछि धकेलिन्छ । राष्ट्रिय स्वाभिमान स्खलित हुन्छ । त्यसैले आगामी निर्वाचनबाट एमालेको पक्षमा बहुमत आए मात्र यो देशले भोगरिहेको ऐठन अन्त्य हुन्छ भन्ने कुरा आम नागरिकले बुझेका छन् ।

त्यसपछि त संघियताको कार्यान्वयनसँगै भएको स्थानीय तहको निर्वाचनबाट एमालेले अर्को लहर ल्यायो । एमालेको नौ महिने सरकार अनि त्यसले शुरु गरेको लोकप्रिय-जनप्रिय कार्यक्रम, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको विकासको कायापलट, राष्ट्रियता र स्वाभिमानको उचाई जस्ता कुराले फेरि एमाले सवैभन्दा जनप्रिय पार्टीका रुपमा स्थापित भयो। तत्कालिन स्थानीय निकायहरु रिक्त भई सके पछि जन्मिएकाहरु अहिले मतदाता भइसकेका छन् । उनीहरुले २०७८ सम्म एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले नेतृत्व गरेका स्थानीय सरकारको कार्य सम्पादन हेरेका छन्, देखेका छन् । गत स्थानीय तहको निर्वाचनमा एकातर्फ धुरिएका दल र त्यही गठवन्धनको सरकारले गरेको अवाक गतिविधिहरुले नयाँ मतदाताहरुको मत अब एमालेको निर्णायक हतियारको रुपमा उदय हुनेछ।

एमाले प्रतिको जनअपेक्षा
आमरुपमा हेर्ने हो भने आर्थिक समृद्धी, राष्ट्रिय स्वाभिमानको रक्षा, आत्मनिर्भरता अभिवृद्धी जस्ता कुराहरुमा कुनै पनि राजनीतिक दलसँग जनअपेक्षा छ भने त्यो, एमालेसँग मात्र हो । त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीको वैचारीक स्पष्टता, सैद्धान्तिक दृढता र दूरगामी दृष्टिकोणकै कारण सवैभन्दा आशा र भरोसा गरेको नेता ओलीनै हुन्, पार्टीमा एमाले नै हो । प्रधानन्यायाधीश माथिको महाअभियोग, बजेट निर्माणमा अवान्छित व्यक्तिको सहभागीता, विकास बजेटको कटौती, नागरिकता विधेयकको आडमा संसद भित्र भइरहेका छलछाम् यी आदि विषयले एमालेको सरकार नहुनुको अभाव खड्काई सकेको छ ।
नेकपाकालिन अवस्था वा त्यस पछि पनि, एमालेलाई कमजोर पार्ने षड्यन्त्रहरु नगरिएका भए न अहिले राजनीतिक दलहरु प्रति देखिएको वितृष्णाको तुवाँलो देखिन्थ्यो, न दलीय उम्मेद्वारहरुको विकल्प हुने गरि केही ‘कस्मेटीक’ अनुहारका दोकान चल्थे । न त, शिखर चढ्दै गरेको आर्थिक समृद्धी र राष्ट्रिय स्वाभिमानको यात्रामा ठेस लाग्थ्यो । पञ्चबन्धन (पाँच दलीय गठबन्धन) का सनकमा भरमा देश जति चल्छ, विकास र समद्धि उत्तिनै पछि धकेलिन्छ । राष्ट्रिय स्वाभिमान स्खलित हुन्छ । त्यसैले आगामी निर्वाचनबाट एमालेको पक्षमा बहुमत आए मात्र यो देशले भोगरिहेको ऐठन अन्त्य हुन्छ भन्ने कुरा आम नागरिकले बुझेका छन् ।

यदि एमाले कमजोर हुन्छ भने, भयो भने– त्यो अरु कसैका कारण हुँदैन । अरुले एमालेलाई कमजोर पार्न र हराउन पनि सक्दैनन् । चाहे पञ्चबन्धनको प्रहार होस् वा त्यसमा थपिने अरु ऐजेरु र पिला-खटिराहरु । एमालेमा नयाँ प्रवेशीहरुको लहरलाई पार्टी बनाउने, बचाउने र चलाउने चरित्रमा विकास गर्दै आन्तरीक एकता सुदृढ बनाउने हो भने मात्र एमाले प्रतिको जनअपेक्षा र चाहना पूरा हुन सक्छ । यो कुरा नागरिकले बुझेका छन्, बाँकि बुझ्ने र बुझाउने जिम्मा एमालेको हो ।
(लेखक प्रेस चौतारी नेपाल प्रदेश १ का महासचिव हुनुहुन्छ ।)