काठमाडौं-नेकपा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गर्नुभएको छ।
अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन बोलाएको भेलामा उपाध्यक्ष पौडेलले हल्लाको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिनुभयो। पूर्वअर्थमन्त्री पौडेलले संसदमा कुनै दलको एकल बहुमत नरहेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने दाबी गर्नुभयो।
अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्ला निराधार रहेको बताउनुभयो। बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गराउनुभयो।
‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरुले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो’, पौडेलले भन्नुभयो, ‘संसदमा कसैको पनि एकल बहुमत छैन। यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ। त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन। ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ।’
उपाध्यक्ष पौडेलले विगतमा राजनीतिक दबाबका कारण बिना तयारी र बिनास्रोत राखिएका हजारौं टुक्रे आयोजना खारेज गर्न अर्थमन्त्री पुनलाई सुझाव दिनुभयो। त्यसमा आफू र आफ्नो दलका तर्फबाट अर्थमन्त्रीलाई साथ रहने प्रतिबद्धता जनाउनुभयो।
प्रतिक्रिया