अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गर्भपतनबारे अझै ढुक्क भएर कुरा गर्ने वातावरण छैन : सुनिता डंगोल

गर्भपतनबारे अझै ढुक्क भएर कुरा गर्ने वातावरण छैन : सुनिता डंगोल


काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालमा गर्भपतनबारे अझै ढुक्क भएर कुरा गर्ने अवस्था नरहेको बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमेयर डंगोलले गर्भपतनलाई पापका रुपमा हेरिँदा समस्या बढिरहेको बताउनु भएको हो ।

आठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका अवसरमा परिवार कल्याण महाशाखा, महिला कानुन र विकास मञ्च, आइपास नेपाल लगायतले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उपमेयर डंगोल भन्नुभयो, ‘सुरक्षित गर्भपतन महिलाको प्रजनन् अधिकार हो। गर्भपतन सेवालाई सुरक्षित गुणस्तरीय, सर्वसुलभ बनाउनु जरुरी छ । यसबारे जनचेतना जगाउन र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिसमेत गर्न आवश्यक छ ।’

गर्भपतनबारे महानगरपालिकाले सक्दो सहयोग गर्ने समेत उपमेयर डंगोल प्रतिवद्ध जनाउनु भयो ।

कार्यक्रममा आइपास नेपालले गर्भपतनको इतिहासदेखि वर्तमानसम्मका विभिन्न घटनाक्रमहरुलाई समेटेर बनाइएको वृत्तचित्र प्रदर्शन गरेको थियो।

महिला विकास र कानुन मञ्चका कार्यकरी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालमा सुरक्षित गर्भपतनको सुरूआतदेखि हालसम्मको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । सो क्रममा उहाँले हालसम्म ४२ प्रतिशत महिलालाई मात्र गर्भपतनले कानूनी मान्यता प्राप्त गरेको बारे जानकारी रहेको बताउनु भयो ।