अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार सिट बाँडफाँडमा व्यस्त, डेङ्गु नियन्त्रणमा उदासीन : शेरबहादुर तामाङ

सरकार सिट बाँडफाँडमा व्यस्त, डेङ्गु नियन्त्रणमा उदासीन : शेरबहादुर तामाङ


काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले यतिवेला देशैभर डेङ्गु उच्च जोखिममा पर्दा पनि गठबन्धन सरकारले त्यसको नियन्त्रणमा ध्यान नदिएको भन्दै आलोचना गर्नुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गरी पूर्वस्वास्थ्य मन्त्री समेत रहनुभएका तामाङले डेङ्गु सङ्क्रमण भयावह रूपमा फैलिरहेको बताउनुभएको छ । ‘डेङ्गुको कारण सर्वसाधारण जनतामा त्रास फैलिरहेको छ । यसको रोकथामको पर्याप्त सतर्कता अहिले पनि अपनाउन सकिरहेको छैन, दिनानुदिन फैलिरहेको डेङ्गी नियन्त्रणको लागि संघीय सरकारले कुनै प्रभावकारी कदम चालेको देखिएन’ तामाङले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

सरकार नागरिकको स्वास्थ्य प्रति जिम्मेवार नभएको तामाङले टिप्पणी गर्नुभएको छ । ‘दिनदिनै गठबन्धनको सिट बाँडफाँडमा बालुवाटारमा व्यस्त सरकारका प्रतिनिधिहरू जनताको स्वास्थ्य प्रति विल्कुलै उदासीन हुनु दुर्भाग्य हो, कोभिडको समयमा केपी शर्भा ओली नेतृत्वको सरकार हुँदा कोभिड नियन्त्रण बारेमा उहाँलाई आलोचना गर्न नथाक्नेहरू आज डेङ्गु नियन्त्रणमा किन चुक्दैछन् ?’ नेता तामाङले प्रश्न गर्नुभएको छ ।

नेत तामाङले केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिडको नियन्त्रण गरिएको स्मरण गराउनुभएको छ। आफू स्वास्थ्यमन्त्री भएको बेला कोभिड खोप अनुदानमा ल्याउने र खरिद गर्ने सम्झौता भएर सोही मुताबिक ल्याएको उहाँले प्रष्ट पार्नुभएको छ ।

कोभिड केही बाँकी भएपनि एमाले सरकारकै पालामा देश आमरुपमा कोभिड मुक्त भएको तामाङले उल्लेख गर्नुभएको छ । ‘एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्ने कोभिड नियन्त्रण त हामीले गर्न सक्यौँ भने आज लामखुट्टेका कारण अप्रत्यक्ष रूपमा सर्ने रोगको नियन्त्रणमा सरकार यति धेरै किन उदासीन छ ?’ तामाङको प्रश्न छ ।

जनताको स्वास्थ्यभन्दा ठुलो दिन दिनको सिट बाँडफाँड बैठक हुन नसक्ने उहाँको टिप्पणी छ । ‘पहिले जनताको स्वास्थ्यको ख्याल गरियोस्’, तामाङले सरकारसँग आग्रह गर्नुभएको छ ।

डेङ्गुले मानिसको ज्यान समेत लिने भएकाले यसको नियन्त्रण अनिवार्य रहेको उहाँले बताउनुभएको छ । यसको लागि नागरिकलाई पनि सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । 

नेकपा एमालेका कार्यकर्तालाई आउँदै गरेको बडा दशैँलाई डेङ्गु नियन्त्रणको काममा उपयोग गर्न तामाङले अपिल गर्नुभएको छ । सो रोगको रोकथामको लागि लामखुट्टे नियन्त्रण अनिवार्य भएकाले घर वरिपरि पानी जमेका खाल्डाखुल्डी पुर्ने, घरमै रहेका पानी जमेर बसेका ठाउँहरू सफा गर्ने, सकेसम्म लामखुट्टेको फैलावट हुन सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी नष्ट गर्ने कार्यमा लाग्न र सहयोग गर्न उहाँले अपिल गर्नुभएको छ ।