विराटनगर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नो मेची-महाकाली पैदल यात्रा बाटो नाप्न नभई देश र समाज जोड्न तथा जनताका समस्या सुन्नका लागि भएको बताएका छन्।
हुलाकी राजमार्ग केन्द्रित ६० दिने पदयात्राका क्रममा झापा हुँदै मोरङका विभिन्न स्थानको यात्रा पूरा गरी विराटनगर पुगेका सिंहले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा सामाजिक सद्भाव र राष्ट्रिय एकता अभियानको मुख्य उद्देश्य रहेको बताए।
उनले दैनिक १२ घण्टा अभियानमा खटिने गरेको जानकारी दिँदै पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा जनताका समस्या तथा गुनासा सुन्ने गरेको बताए। यात्राका क्रममा सडक, पुल, तटबन्ध, किसानले धानको उचित मूल्य नपाएको र मलखाद अभावलगायतका समस्या संकलन गरिरहेको उनले बताए।
संकलित समस्या समेटेर पुस्तक तयार पार्ने र प्रधानमन्त्री, पार्टी सभापति रवि लामिछाने तथा संसद्मा पुर्याएर एक-एक विषय उठाउने उनको भनाइ छ। उनले यस यात्रापछि गर्मीयाममा मध्यपहाडी लोकमार्ग केन्द्रित अर्को पैदल यात्रा गर्ने घोषणा पनि गरे।
सिंहले वर्तमान दुई तिहाइको सरकार पाँच वर्ष टिक्नुपर्ने बताउँदै सरकार असफल हुनु देशकै लागि दुर्भाग्यपूर्ण हुने धारणा राखे। पार्टीभित्र गुटबन्दी तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र सभापति लामिछानेबीच मतभेद रहेको चर्चालाई अस्वीकार गर्दै उनले पार्टी एकढिक्का रहेको दाबी गरे।
सरकारमा मन्त्री पद नलिएको प्रसंगमा उनले आफू पदका लागि नभई राजनीतिक मानक स्थापित गर्न राजनीतिमा लागेको बताए। हुलाकी राजमार्ग दशकौँसम्म अलपत्र पर्नुमा विगतका सरकारको नीति र नियत जिम्मेवार रहेको आरोप लगाउँदै उनले शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति सुरक्षा र सरसफाइलाई आफ्नो अभियानको प्राथमिकता रहेको उल्लेख गरे।
पत्रकारिताको स्वतन्त्रताबारे बोल्दै सिंहले पत्रकारले सरकार र नेताहरूलाई प्रश्न गर्न नछाडे मात्रै लोकतन्त्र बलियो हुने बताए। उनले शान्तिपूर्ण विरोधलाई लोकतन्त्रको सुन्दरता भन्दै कटहरीमा युवाहरूले देखाएको कालो झण्डालाई स्वाभाविक रूपमा लिएको बताए।
आगामी स्थानीय र प्रदेश निर्वाचन एकै दिन गर्नुपर्ने धारणा राख्दै उनले यसबाट राज्यको अर्बौं रुपैयाँ खर्च जोगिने बताए। पुराना दलहरू आन्तरिक द्वन्द्वमा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि जनताले रास्वपालाई समर्थन गर्ने उनको दाबी थियो।



प्रतिक्रिया