अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साल्मेडाँडामा समाधिस्थल निर्माण

साल्मेडाँडामा समाधिस्थल निर्माण


स्याङ्जा – स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ ।

रु.पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिनुभयो । पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन ।

गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पदाधिकारीसहितको टोली बिहीबार समाधिस्थल पुगी निर्माणलाई तीव्रता दिने जनाइएको हो । बेलायती सेनामा भर्ना भई प्रथम र दोस्रो युद्धमा मृत्यु भएका ६० हजार नेपालीको स्मृतिमा  निर्माणाधीन उक्त समाधि निर्माणमा हालसम्म रु.१५ करोड खर्च भइसकेको छ।

पूर्वगोर्खा सैनिकहरूद्वारा पैसा उठाएर विस २०७१ देखि समाधिको निर्माण सुरु गरिएको हो । समाधि निर्माणसँगै गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशा फेदीखोला गाउँवासीको छ । फेदीखोला–१ का वडाध्यक्ष अमृत क्षेत्रीले गोरखा स्मारक निर्माण सम्पन्न ग¥यौँ भने साल्मेडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्ने बताउनुभयो ।

पछिल्ला वर्षमा प्रदेश सरकार र स्थानीय सरकारले समेत समाधि निर्माणका लागि रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । गेसोका अध्यक्ष पदमबहादुर गुरुङले समाधि निर्माण सबैको सहयोगमा सम्पन्न गर्ने बताउनुभयो। गेसोले गोरासरह पेन्सन र समान सुविधा  गोर्खालाई पनि उपलब्ध गराउनुपर्ने, विश्व युद्धबन्दी र युद्धमा मारिएका ६० हजारका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतको अधिकार माग गर्दै  बेलायती अदालतमा मुद्दा दर्ता गरी २७ वर्षदेखि लड्दै आएको जानकारी अध्यक्ष गुरुङले दिनुभयो ।