अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन् २०२४ को डीभी लोटरीका लागि आवेदन खुल्यो

सन् २०२४ को डीभी लोटरीका लागि आवेदन खुल्यो


काठमाडौं – अमेरिका सरकारले सन् २०२४ का लागि डाभइर्सिटी भिसा (डीभी) लोटरी कार्यक्रमका लागि आवेदन खुला गरेको छ। यस कार्यक्रमअन्तर्गत अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म आवेदन दिन सकिनेछ।  

अमेरिका सरकारले डीभी लोटरी कार्यक्रममा सहभागी हुन कुनै किसिमको शुल्क नलाग्ने जनाएको छ।

डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा dvprogram.state.gov मा गएर इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डीभी) आवेदन फारम भर्नु पर्नेछ।

के छन् शर्तहरु?   
सन् २०२४ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता अवधि ५ अक्टोबर २०२२ (२०७९ असोज १९) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ। 

८ नोभेम्बर २०२२ (२०७९ कार्तिक २२) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको १०:४५ बजे) बन्द हुनेछ।

आवेदकका लागि जानकारी

आवेदन नि:शुल्क : डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन।

कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ।

फारम अनलाइन भर्नुपर्ने : सन् २०२४ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा dvprogram.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डीभी) आवेदन फारम भर्नु पर्नेछ।

पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ।

एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्।

हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। कृपया ध्यान दिनुहोला : फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन।

पासपोर्ट: गएको वर्षहरूमा डिभी आवेदन दिनेक्रममा आफ्नो वैध र म्याद नसकिएको राहदानीको विवरण पनि आवेदनसँगै उल्लेख गर्नुपर्ने हुन्थ्यो। यस वर्षदेखि आवेदन दिँदा वैध राहदानीको विवरण उल्लेख गर्नुपर्दैन।

आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो।

• आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस्।

• तपाईँ डीभी का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ६, २०२३ (२०८० वैशाख २२) वा त्यसपछि dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रवेश गर्नु हो।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन।

डीभी का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डीभी का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन्।