अर्घाखाँची – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अब राजनीतिको लक्ष र उद्देश्य बदलिएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा सदस्यको लागि अर्घाखाँची जिल्लाबाट मनोनयन दर्ता गराउँदै रायमाझीले भन्नुभयो, ‘अब हाम्रो लक्ष राजनीतिक क्रान्तिको छैन, अब हाम्रो लक्ष भनेको विकास र समृद्धिको लक्ष मात्र हो, हामी विकास र समृद्धिको माध्यमबाट समाजवादमा पुग्न चाहन्छौँ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुन पार्टी, विचार, सिद्धान्त र लक्षले समाजवादमा पुग्न सकिन्छ भन्ने कुराको फैसला गर्ने दिन आएको बताउनुभयो । हामी नयाँ ठाउँमा आइपुग्यौँ, पुरानो ठाउँमा छैनौँ‘ उहाँले भन्नुभयो ।
आगामी मङ्सिर ४ को निर्वाचनले यस विषमा फैसला गर्ने उहाँले प्रष्ट पार्नुभयो। राष्ट्रियतालाई जिताउने कि हराउने भन्ने लडाइँ मङ्सिर ४ को लडाइँ भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेले जितेन भने देशको स्वाधीनताको रक्षा हुन सक्दैन, देशको स्वाधीनताका लागि पनि एकाले जित्न जरुरी छ, विकास र समृद्धिको लागि पनि एमालेले जित्नु जरुरी छ ।’
एमालेले विगतमा गरेका कामलाई निरन्तरता दिन पनि एमालेले नै जित्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । विकास, समृद्धि र सुशासनको लागि एमालेले जित्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
अर्घाखाँचीमा एमालेले स्थानीय तहमा बेस बनाएकोले त्यसमा टेकेर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जना गाउँमा नै गराउन सक्ने हो भने गाउँमा नै मानिसलाई फर्काउन सकिने उहाँले बताउनुभयो । जलश्रोत क्षेत्रको विकास गर्न सकिने हो भने पनि धेरै अवसर सिर्जना गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।
आफ्नो जीत कुनै एक व्यक्तिको नभई पार्टी, देश र जनताको जीत हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो जीत सुनिश्चित छ, हामीलाई कसैले हराउन सक्दैन ।’






प्रतिक्रिया