प्रदेश (क) को नेतृत्व गुरुङ र (ख) को नेतृत्व पोखरेलले गर्ने
दोलखा – नेकपा एमाले दोलखाले जिल्लामा निर्वाचन परिचालनका लागि पूर्वमन्त्री तथा पोलिटब्यूरो सदस्यद्वय आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ रहेको ६ सदस्यीय उच्चस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
सोमबार बसेको जिल्ला कमिटीको बैठकको निर्णय आज सार्वजनिक गर्दै जिल्ला अध्यक्ष तथा प्रदेश (क) का एमाले प्रदेससभा सदस्य उम्मेद्वार नरबहादुर श्रेष्ठले जिल्ला निर्वाचन परिचालनका लागि उच्चस्तरीय कमिटी बनेको जानकारी दिनुभएको हो ।
कमिटीमा पोलिटब्यूरो सदस्यद्वय पोखरेल र गुरुङसहित केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष तथा प्रदेश (क) का उम्मेद्वार श्रेष्ठ, प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटी तथा प्रदेश (ख) का उम्मेदवार भरतबहादुर केसी हुनुहुन्छ ।
निर्वाचन परिचालन विकेन्द्रीत गर्दै जिल्ला कमिटीले प्रदेश क को नेतृत्व गर्ने जिम्मेवारी पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गुरुङ र प्रदेश ख मा पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पोखरेललाई दिएको छ । उच्चस्तरीय परिचालन कमिटीमा जिल्ला सचिव हिरा थोकरले सचिवालय सचिवका रुपमा काम गर्नुहुनेछ ।
त्यस्तै, जिल्ला अध्यक्ष श्रेष्ठको नेतृत्वमा १ हजार १ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी, प्रदेश क मा पूर्व जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य ईश्वरचन्द्र पोखरेल र प्रदेश खमा अर्का प्रदेश कमिटी सदस्य डबल पाण्डेको नेतृत्वमा बेग्लाबेग्लै परिचालन कमिटी गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै, पार्टी परिचालनको जिम्मेवारी केन्द्रीय सदस्य सरस्वती बस्नेत, जनसंगठन प्रचारको नेतृत्व केन्द्रीय सदस्य रचना खड्का, सामाजिक सांस्कृतिक क्षेत्रको संयोजन पूर्व सांसद शान्ती पाख्रिन, वित्तीय सहकारी परिचालनको संयोजन हेमन्त चौंलागाईंले गर्नुहुनेछ । निर्वाचन प्रचार संयोजनको काम जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले गर्नुहुनेछ । प्रचारप्रसारका लागि उहाँको नेतृत्वमा ५ सय ५१ सदस्यीय कमिटी निर्माण भएको छ । त्यस्तै, प्रदेश कका लागि ऋषिकेश उप्रेती र प्रदेश ख का लागि कुमार खड्काको नेतृत्वमा १ सय ५१ सदस्यीय अलगअलग कमिटी गठन गरिएको पनि जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
एमाले दोलखाले आगामी ४ मंसिरको निर्वाचनलाई समग्र शक्ति प्रदर्शनको अवसरका रुपमा लिदैं एकल रुपमा जितेर पुन ः वलियो शक्तिका रुपमा स्थापित हुनेगरी निर्वाचनमा होमिने निर्णय लिएको छ ।







प्रतिक्रिया