अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त आईजीपी केसीले आजै दर्ज्यानी चिह्न लगाएर पदबहाली गर्ने

नवनियुक्त आईजीपी केसीले आजै दर्ज्यानी चिह्न लगाएर पदबहाली गर्ने


काठमाडौं-नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई बुधबार आजै दर्ज्यानी चिह्न (फुली) प्रदान गरिने भएको छ। गृह मन्त्रालयले साँझ ५ः४५ बजे मन्त्रालयमा विशेष समारोह आयोजना गरी उनलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम तय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार नवनियुक्त आईजीपी केसीलाई गृह सचिव केदारनाथ शर्माले दर्ज्यानी चिह्न लगाइदिनेछन्।

दर्ज्यानी चिह्न प्रदान गरेपछि उनलाई प्रहरी प्रधान कार्यालय लैजाने तयारी गरिएको छ। त्यसका लागि औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

नवनियुक्त आईजीपीको स्वागत तथा पदबहालीका लागि प्रहरी प्रधान कार्यालयमा आवश्यक तयारीसमेत सुरु गरिएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिएपछि डा. केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। नेपाल प्रहरीका ३४औँ महानिरीक्षक बनेका केसीले करिब १७ महिना प्रहरी संगठनको नेतृत्व गर्नेछन्।