रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारबाट निजी क्षेत्रको घाँटी निमोठेर नै देश इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको बताउनु भएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आज बुटवलमा आयोजना गरेको उद्योगी तथा व्यवसायी भेलामा बोल्दै पौडेलले नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्थामा आइपुगेको छ, नागरिक चरम मूल्यवृद्धिको चपेटामा परेका छन्, यसको सबै जिम्मेवारी सरकारको हो ।’
उहाँले आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेर दोब्बर वृद्धि भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले निजी क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको छ, यसको वास्तविकता सबै उद्योगीले थाहा पाउनुपर्ने हुन्छ।’
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक यो अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।
विगतमा नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात गर्नु नै आर्थिक संकटको पहिलो कारण भएको उहाँले बताउनुभयो ।
बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै उहाँले उनीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ रहेको उल्लेख गर्नुभयो ।
कोरोना महामारीले धरासायी भएका निजी क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको कडा आलोचना गर्नुभयो ।







प्रतिक्रिया