काठमाडौं-६ साताअघि पनि ऋषि सुनक बेलायतको सत्तारुढ पार्टीको नेतृत्वको दौडमा थिए । अहिले ऋषिका प्रतिद्वन्द्वी र प्रधानमन्त्री लिज ट्रसको राजीनामापछि सुनक फेरि बेलायती प्रधानमन्त्री पदको दौडमा उत्रिएका छन् । उनले उम्मेदवारीको लागि आवश्यक सय सांसदको समर्थन हासिल गरिसकेका छन् ।
यसबीच, पूर्व प्रधानमन्त्री बोरिस जोनसन पनि प्रधानमन्त्रीमा पुन दोहोरिने हिसाबले बिदाबाट फर्किएका छन् । अर्की कन्जरभेटिभ नेतृ पेनी मोर्डन्टले औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री पदको दौडमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छिन् । उनी पनि यसअघिको नेतृत्व दौडमा भाग लिएकी थिइन् तर असफल भइन् ।
ऋषि सुनकको चेतावनी सही
अघिल्लो नेतृत्व चयनको प्रतिस्पर्धाका क्रममा लिज ट्रसले कर घटाउने र ग्यासको मूल्य स्थिर गर्नेजस्ता धेरै वाचा गरेकी थिइन् । त्यस समय ट्रससँग नेतृत्वको अन्तिम चरणमा पुगेका सुनकले यस्तो कदमले देशलाई ठुलो आर्थिक सङ्कटमा पार्ने चेतावनी दिएका थिए ।
नभन्दै ट्रसको आर्थिक नीतिहरू घातक साबित भयो । त्यसले उच्च मुद्रास्फीति, उच्च ब्याज दर, पाउन्डको अवमूल्यन र ऋणको भार बढाउनेजस्ता समस्या उत्पन्न गरेको छ । यही समस्याले लिज ट्रसको पद पनि गुम्यो ।
के बोरिसको पुनरागमन सम्भव छ ?
नयाँ नेतृत्व चयनको लागि हुने प्रतिस्पर्धामा ऋषि सुनक र बोरिस जोनसन प्रमुख प्रतिद्वन्द्वीका रूपमा अघि आउने सम्भावना उच्च रहेको विश्लेषकहरूले विश्वास व्यक्त गरेका छन् । यसैको लागि बिदा मनाउन डोमिनिकन रिपब्लिक रहेका बोरिस जोनसन स्वदेश फर्किसकेका छन् ।
दुई जनामध्ये ऋषिले नेतृत्वको उम्मेदवार ठहरिन आवश्यक सय सांसदको समर्थन हासिल गरिसकेका छन् भने जोनसन त्यसको तयारीमा रहेको बताइन्छ ।
अहिले बेलायत आर्थिक सङ्कटमा छ, डेढ वर्षपछि आम निर्वाचन गर्नुपर्नेछ । कन्जरभेटिभ सांसदहरू आगामी प्रधानमन्त्रीले आर्थिक सङ्कटबाट पार गरेर चुनाव जित्न निकाल्ने वातावरण बनाओस् भन्ने चाहन्छन् ।
अहिलेको नेतृत्व चयनले आगामी निर्वाचनमा पार्टीको प्रदर्शनलाई असर गर्ने भएकाले पनि त्यसले पनि नयाँ नेतृत्वमा असर गर्नेछ । बोरिस जोनसनको नेतृत्वमा कन्जरभेटिभ पार्टीले अघिल्लो चुनावमा ठुलो जीत हासिल गरेको रेकर्ड छ भने अहिलेको आर्थिक सङ्कटसँग जुध्न ऋषि सुनक उत्कृष्ट उम्मेदवार हुने विश्वास छ । यी दुई कुराले गर्दा सुनक र जोनसनबीच प्रतिस्पर्धा बलियो हुने आँकलन छ ।
मध्यावधि चुनावको सम्भावना कति ?
बेलायतको प्रमुख विपक्षी लेबर पार्टीका नेता सर केयर स्टेरमरले मध्यावधि चुनावको आह्वान गरेका छन् । अहिले भएका जनमत सर्वेक्षणले आगामी चुनावमा लेबर पार्टीले जित्ने संकेत गरिरहेको छ । त्यसैले अर्को साता जो प्रधानमन्त्री भए पनि कन्जरभेटिभ प्रधानमन्त्रीको रूपमा उनको कार्यकाल छोटो हुने सम्भावना छ ।
तर समस्या आर्थिक छ, त्यसैले अहिले आम निर्वाचन भयो र लेबर पार्टी सत्तामा आयो भने उसले पनि यस आर्थिक सङ्कटसँग जुध्नुपर्ने हुन्छ ।
कोरोना महामारीपछि विश्वका अधिकांश अर्थतन्त्रको अवस्था नाजुक छ । यो विश्वव्यापी समस्या हो । देशलाई संयमतापूर्वक काम गर्ने, ठुला वाचा नगर्ने, जनताको विश्वास जित्ने र बिस्तारै अगाडि बढ्ने प्रधानमन्त्रीको आवश्यकता रहेको विश्लेषकहरू बताउँछन् ।
अबको प्रधानमन्त्री कहिले ?
कन्जरभेटिभ पार्टीको नियम अनुसार बेलायतको आगामी प्रधानमन्त्रीको उम्मेदवारले नेतृत्वको दौडमा प्रवेश गर्न पार्टीका ३५७ मध्ये कम्तीमा १०० सांसदको समर्थन जित्नुपर्नेछ।
यसको मतलब बढीमा तीन जना उम्मेदवार खडा हुन सक्छन् । यदि तीन उम्मेदवार निश्चित भएपछि सांसदहरूले पहिले मतदान गर्नेछन्, जसले सबैभन्दा कम प्राप्त गर्छ उ प्रतिस्पर्धाबाट बाहिरिनेछ । त्यसपछि बाँकी दुई उम्मेदवारमध्ये सांसदहरूले आ–आफ्नो रुचि अनुसार दुवै उम्मेदवारलाई मतदान गर्न सक्नेछन् ।
अगस्ट र सेप्टेम्बरमा भएको नेतृत्व चयनको प्रक्रिया हप्तौँ लामो थियो । यस पटक भने सांसदहरुबीचमा मात्र चुनाव हुने भएकाले चुनाव एक साता मै सकिनेछ ।
सोमबार उम्मेदवारीको टुङ्गो लाग्दा एउटै उम्मेदवार उठे भने उनी स्वतः कन्जरभेटिभ पार्टीका नयाँ नेता चुनिनेछन् र आगामी प्रधानमन्त्री घोषणा गरिनेछन् ।-बीबीसी






प्रतिक्रिया