अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकटमा मात्र सम्झिने कान्ति लोकपथ, पहिरो र जामबीच काठमाडौंको आपूर्ति धान्दै

संकटमा मात्र सम्झिने कान्ति लोकपथ, पहिरो र जामबीच काठमाडौंको आपूर्ति धान्दै


काठमाडौं-देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ।

हेटौंडाबाट मालबाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौंबाट खाली सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौंडा पुग्ने व्यवस्था गरिएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौँ–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध छ।

वैकल्पिक ‘ट्र्याक’ खुले पनि सञ्चालन र यातायात सहज बन्न अझै समय लाग्ने देखिन्छ। यो संकटको  सारथि कान्ति लोकपथ बनेको छ।

ललितपुर र मकवानपुरलाई जोड्ने यो सडकको प्रस्थान विन्दु ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरव हो।

टीकाभैरव पुग्न चक्रपथ ललितपुर खण्डको चापागाउँ दोबाटो र एकान्तकुनाबाट नक्खु करिडोर हुँदै दुईवटा सडक प्रयोग गर्न सकिन्छ।

अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधन एकान्तकुना हुँदै टीकाभैरव पुगेर कान्ति लोकपथबाट हेटौंडा जाने गरेका छन्।

ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि मकवानपुरको भीमफेदी गाउँपालिकासम्म पुग्न विभिन्न ठाउँमा पहिरोको अवरोध सामना गर्नुपर्छ।

कान्ति लोकपथ योजनाका सुपरभाइजर माधवप्रसाद घिमिरेका अनुसार गोदावरी गाउँपालिकाको बिर्खेधारासँगै  बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ।

भालुखोला, कार्कीबास, काल्चे, भन्सेखोलाको पहिरो र एकतर्फी ट्र्याकका कारण सवारी आवागमनमा समस्या छ।

‘बागमती गाउँपालिका–३ का भालुखोला, कार्कीबास, छपेली नजिकैको काल्चे पहिरो, टाकुर्से र पाङ्दुर यो सडकका प्रमुख अवरोध हुन्। भान्से खोलामा एकतर्फी ट्र्याक भएकाले ठूला सवारीसाधन केही समय लाइनमा बस्नुपर्ने बाध्यता छ,’ उनले भने।

बागमती गाउँपालिकाकै  पाङदुरमा ८०० मिटर पार गर्न २५ मिनेटदेखि आधा घण्टा समय लाग्छ।

‘अहिले यस राजमार्गमा १२, १४ र १६ चक्के  गाडी दैनिक दुई हजार ५०० देखि तीन हजार गुड्छन्। त्यसले रातभर पुरेको सडक दिनभरमा फेरि भत्किसकेको  हुन्छ,’ लोकपथको समस्या सुनाउँदै सुपरभाइजर घिमिरे भन्छन्।

बागमती गाउँपालिकाको तामाखानीमा चट्टान काट्न नसक्दा ६५ मिटर बाटोमा ठूलो समस्या छ। चट्टानको कटानको काम जारी रहेकाले यहाँ सवारीसाधनले थोरै बाटो पार गर्न धेरै समय कुर्नुपर्ने बाध्यता रहेको घिमिरेको भनाइ छ।

साँघुरो  र निर्माणाधीन सडक  भएकाले  ठूला बस सञ्चालनमा  समस्या  भएको उनी बताउँछन्।

‘ट्रक र मालवाहक सवारीसाधन केही समय जाममा परे पनि समस्या छैन तर ठूला रात्रि बस ठोक्किने समस्या धेरै छ। नियमित पहिरो जाने क्षेत्रबाहेक बाटो राम्रो भए पनि एकतर्फी सडक भएकाले जाममा बस्नुपर्छ। रात्रि बसका कारण मालवाहक सवारी साधन समस्यामा पर्ने गरेका छन,’ सुपरभाइजर घिमिरे भन्छन्।

सरकारले पृथ्वी राजमार्ग अवरुद्ध भएर काठमाडौँ उपत्यकालाई समस्या पर्दा मात्र कान्ति लोकपथलाई सम्झिने  भएकाले यो  सडकमा सधैँ समस्या भएको सुपरभाइजर घिमिरेको अनुभव छ।

‘यो सडक योजनामा सुपरभाइजर भएर काम गरेको ११ वर्ष भयो। सरकारले आपत् वा सङ्कटमा मात्र यो सडक सम्झिन्छ। पछिल्लो समय यो सडक योजनाका लागि एकमुष्ट तीन अर्ब रकम आएको छ। योजनाअनुसार काम ७० प्रतिशत सकिएको छ तर पछिल्लो समय गाडीको चाप बढेर काम गर्न समस्या छ,’ सुपरभाइजर घिमिरे भन्छन्।

चौबिस घण्टा ट्राफिक व्यवस्थापन, व्यापारमा मन्दी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लोकपथमा अवरोध भए तत्काल पन्छाउन २४ घण्टा हेभिइक्युपमेन्ट  राखिएको  छ।

भट्टेडाँडा र टीकाभैरवमा हेभिइक्युपमेन्ट राखिएको प्रवक्ता सुवेदीले जानकारी दिए। सवारी चाप बढेसँगै  टाखेल,  ट्याक्सी पार्क, ढोलाहिटी, टीकाभैरव फूलबारी, टीकाभैरव बजार, तीनपाने र भट्टेडाँडामा ट्राफिक प्रहरी परिचालन गरिएको उनको भनाइ छ।

भदौ १० गते भोटेकोशीमा बाढी आउनुअघि दैनिक एक सयको हाराहारीमा सवारीसाधन गुड्ने यो सडकमा बाढीपछि सवारी चाप ह्वात्तै बढेको छ। एक दिनमै एक हजारदेखि एक हजार ५०० सम्म सवारी साधन गुडेको तथ्यांक रहेको प्रवक्ता सुवेदी बताउँछन्।

मालवाहक सवारीसाधन गुड्न थालेपछि यो सडकको व्यापारमा कमी आएको व्यापारीहरु बताउँछन्।

कान्ति लोकपथअन्तर्गत छपेलीमा होटल व्यवसाय गर्ने प्रमिला दाहाल सबै खाली गाडी गुडेका कारण व्यापार नभएको बताउँछन्।

‘ठूलाठूला गाडी त गुडेका छन् तर व्यापार छैन। एकछिन गाडी रोक्दा जाम हुन्छ। एउटा गाडीमा चालक मात्र हुन्छ। के व्यापार हुनु,’ उनी भन्छिन्।

यात्रुसहितका साना सवारीसाधन कान्ति लोकपथ हुँदै गुड्दा दैनिक २०० जनालाई खाना खुवाउने उहाँ अहिले ५/१० जनाले मात्र खाना खाने गरेको सुनाउँछिन्।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जन सरकारले केही दिनअघि कान्ति लोकपथलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका थिए।
उनले  सङ्कट पर्दा मात्र नभएर राज्यले यस्ता राजमार्गलाई सक्षम र उपयोगी बनाउनुपर्नेमा जोड दिए।

प्रतिनिधि सभाको बैठकको शून्य समयमा धारणा राख्दै सांसद महर्जनले त्यतिबेला भनेका थिए, ‘राष्ट्रिय राजमार्गका रुपमा रहेको यस सडकलाई राज्यले सामान्य अवस्थामा पर्याप्त प्राथमिकता दिएको देखिँदैन तर जब विपत्ति आउँछ र मुख्य सडक अवरुद्ध हुन्छ तब त्यही सडकलाई वैकल्पिक सडकका रुपमा खोल्नुपर्ने  अवस्था आउँछ। सङ्कट पर्दा मात्र सम्झिने होइन, संकट आउनु अगाडि नै यस्ता मार्गलाई सक्षम र सुरक्षित बनाउनु राज्यको दायित्व हो।’

सत्तरी वर्षको इतिहास बोकेको राजमार्ग

ललितपुर र मकवानपुरलाई जोड्ने ऐतिहासिक कान्ति लोकपथ काठमाडौँ उपत्यका जोडिने सात दशक पुरानो सडक मार्ग हो।

विसं २०१३ देखि निर्माण थालिएको यो सडक २०१४ माघ ९ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए।

ट्र्याक खुलेपछि २०१६ सालमा तत्कालीन राजा महेन्द्र आफै यो मार्ग भएर गाडी चलाउँदै हेटौँडा थिए। सोही वर्ष आएको पहिरोपछि यो सडक खण्ड करिब ४० वर्षसम्म पूर्ण रूपमा ठप्प बन्यो।

विसं २०५५ मा कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रस्ताव अघि बढाएपछि २०५६ देखि डिपिआर डिजाइनको काम सुरु भएपछि यो सडकलाई सङ्कटको समयमा सम्झिने गरिएको छ।

काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक राजमार्गका रूपमा २०६६ सालदेखि ‘कान्ति लोकपथ आयोजना’मार्फत पुनःनिर्माण विस्तार तथा स्तरोन्नति भएपछि यो सडक सञ्चालनमा आएको हो।

सञ्चालनपछि विभिन्न ठाउँमा पहिरोले अवरोध गर्दा विभिन्न आर्थिक वर्षमा सडक विस्तारका लागि निरन्तर बजेट विनियोजन भएको छ।

कान्ति लोकपथको ५१ किलोमिटर मकवानपुर र ३८ किलोमिटर भाग ललितपुर जिल्लामा पर्छ। ८९ किलोमिटर सडकको अधिकांश भाग कालोपत्र भए पनि पहिरो र पहाड कटानको काम  भइरहेका विभिन्न ठाउँ गरेर करिब चार किलोमिटर सडक कच्ची छ।

२०८१ सालको बाढीले बागमती खोलाको पुल बगाएपछि बेलिब्रिज जडान गरिएको छ। त्यसको भारवहन क्षमता र सुरक्षाको दृष्टिगत गर्दै मालवाहक खाली गाडीलाई मात्र यो सडकमा सञ्चालनका लागि अनुमति दिइएको छ।


सजना तिमल्सिना/रासस