अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोसी बाढीले रसुवाका ७ स्वास्थ्य संस्था प्रभावित

भोटेकोसी बाढीले रसुवाका ७ स्वास्थ्य संस्था प्रभावित


काठमाडौं-रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले जिल्लाका सात स्वास्थ्य संस्था प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले चार स्वास्थ्य चौकी पूर्ण रूपमा ध्वस्त भएको तथा दुई प्राथमिक स्वास्थ्य सेवा केन्द्र र एक अस्पतालमा आंशिक क्षति पुगेको जनाएको छ।

प्रतिवेदनअनुसार बाढीबाट प्रभावित सात स्वास्थ्य संस्थामा कुल २३ करोड ६६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसमध्ये भौतिक संरचनातर्फ १९ करोड ५० लाख रुपैयाँको क्षति भएको छ भने ४ करोड १६ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री नष्ट भएका छन्।

क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये आंशिक क्षति पुगेको अस्पतालमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। पूर्ण रूपमा ध्वस्त भएका चार स्वास्थ्य चौकीमा ७ करोड ८ लाख रुपैयाँको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी दुई प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा ५ करोड २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिवेदनले प्रभावित स्वास्थ्य संस्थाको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि कुल ७८ करोड रुपैयाँ आवश्यक पर्ने जनाएको छ। यसमध्ये आगामी ६ महिनाभित्र गरिने तत्कालीन पुनर्स्थापनाका लागि १२ करोड ५ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ भने दीर्घकालीन पुनर्निर्माण तथा सेवा सुदृढीकरणका लागि ६५ करोड ९५ लाख रुपैयाँ खर्च लाग्ने उल्लेख गरिएको छ।

बाढीका कारण स्वास्थ्य सेवा प्रवाहमा समेत असर परेको भन्दै प्रतिवेदनले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा शीघ्र सञ्चालनमा ल्याउन आवश्यक स्रोतसाधन र बजेट व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ।