काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा सञ्चारमाध्यमलाई कमजोर बनाउने र सिध्याउने खेलमा अघि बढेको आरोप लगाएका छन्।
आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा नेपाल पत्रकार महासंघ तथा छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई ‘छापा-मार सरकार’को संज्ञा दिए। अध्यक्ष ओलीले सरकारले लोककल्याणकारी विज्ञापन कटौती, सञ्चारमाध्यमप्रति बेवास्ता र नीतिगत असहयोगमार्फत छापा माध्यमलाई संकटमा धकेलेको टिप्पणी गरे।
‘मैले देख्दा अहिलेको सरकार छापा–मार सरकारजस्तो देखिन्छ। छापामार भनेको एकै ठाउँमा होइन, छापा मार्ने सरकार हो। यस्तो अवस्थामा सञ्चारमाध्यमलाई अप्ठ्यारो हुनु स्वाभाविक हो,’ अध्यक्ष ओलीले भने। उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको उल्लेख गर्दै सञ्चारमाध्यममाथिको प्रहार अन्ततः लोकतान्त्रिक प्रणालीमाथिकै प्रहार हुने बताए।
सञ्चार क्षेत्रले भोगिरहेको आर्थिक संकट, बजारको मन्दी र लोककल्याणकारी विज्ञापन कटौतीका विषयमा ध्यानाकर्षण गराउँदै पत्रकार प्रतिनिधिहरूले सरकारको नीतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले इतिहासमा स्वतन्त्रताविरोधी प्रवृत्ति लामो समय टिक्न नसकेको उदाहरण प्रस्तुत गरे। ‘१०४ वर्ष टिकेको राणा शासन अन्त्य भयो, ३० वर्षको पञ्चायती व्यवस्था सकियो, २०६१ सालमा राजा ज्ञानेन्द्रले गरेको ‘कु’ पनि धेरै टिक्न सकेन। त्यसैले स्वतन्त्रता र लोकतन्त्रविरोधी कुनै पनि कदम दीर्घकालीन हुन सक्दैन,’ अध्यक्ष ओलीले भने।
आन्दोलनरत पत्रकारहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै अध्यक्ष ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘नलडी कोही हुन्न विजेता’ भन्ने भाव स्मरण गराए। उनले अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको उल्लेख गर्दै पत्रकारहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाए।
अध्यक्ष ओलीले एमाले र आफू व्यक्तिगत रूपमा पनि अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताको पक्षमा लामो समयदेखि संघर्षरत रहेको बताए। उनले छापा माध्यमलाई इतिहास, तथ्य र अभिलेखको भरपर्दो स्रोतका रूपमा व्याख्या गर्दै डिजिटल युगमा पनि यसको महत्त्व कहिल्यै कम नहुने धारणा राखे।
कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रमुख सचेतकलगायत सांसदहरूको उपस्थिति रहेको थियो। अध्यक्ष ओलीले संसद् बैठक सुरु हुनेबित्तिकै सञ्चार क्षेत्रका समस्या तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी विषय एमालेका तर्फबाट सशक्त रूपमा उठाउने प्रतिबद्धतासमेत व्यक्त गरे।


प्रतिक्रिया