बैतडी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमाले नै चाहिने बताउनु भएको छ ।
आज बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास र समृद्धिका काम गर्न एमाले नै चाहिने बताउनु भयो ।
अध्यक्ष ओलीले आफ्नो तीन वर्षे सरकारको पालामा देशमा ठूला–ठूला विकास गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ ।’
अध्यक्ष ओलीले शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदा पनि झुलाघाटको पुलको दयनीय अवस्था देखेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री भएर पनि देउवाले त्यो देखेन। त्यसको जिम्मा अब एमालेले लिन्छ।’
उहाँले आफ्नो सरकार बनेपछि झुलाघाटमा पक्की पुल बन्ने बताउनुभयो । त्यसको जिम्मा एमाले र आफूले लिने उहाँले बताउनुभयो । उहाँले आफूले दार्चुलाको खलंगामा आयोजित आमसभामा प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिएको बताउनुभयो । ओलीले बैतडीमा पहिले पनि आफू आएको भन्दै विभिन्न विकासका आश्वासनसहित विश्वास बाँढ्नुुभयो ।







प्रतिक्रिया