काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न पार्टीका मातहतका कमिटीहरूलाई निर्देशन दिएका छन्।
बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाबाट तय भएका निष्कर्षलाई व्यवहारमा उतार्न निर्देशन दिएका हुन्।
अध्यक्ष ओलीले पार्टीका तत्कालीन दुई कार्यभार र १५ वटा कामलाई केन्द्रमा राखेर प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूले आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीले बाँकी रहेका सङ्गठनात्मक काम तथा कार्यविभाजनसम्बन्धी आवश्यक निर्णय पार्टीको सचिवालय वा स्थायी कमिटीबाट गरिने जानकारी पनि गराएका छन्।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कमिटीको पाँचौँ बैठक आगामी माघमा आयोजना गर्ने प्रस्तावसमेत राखेका छन्। उक्त बैठकमा पार्टीका समसामयिक विषयमा विस्तृत छलफल गर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए।



प्रतिक्रिया