काठमाडौं-गैरदलीय स्थानीय सरकार निर्माण अभियानले आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ।
अभियानका संयोजक दिनेश सुवेदीसहितको टोलीले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचन प्रणालीमा आवश्यक कानुनी संशोधन गरी गैरदलीय व्यवस्था लागू गर्न माग गरेको हो।
ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, निर्वाचन प्रणाली र अभ्यासलाई आधार बनाएर विषय उठाएको भन्दै आयोगले यसबारे अध्ययन र छलफल गर्ने बताए।
उनले अभियानले उठाएका विषयमा आयोगले अध्ययन गर्ने र आवश्यक परे पुनः छलफलका लागि बोलाउने जानकारी दिए। ‘तपाईंहरूले संविधान, कानुन, हाम्रो व्यवस्था र अभ्यास सबै हेरेर यहाँ विषयहरू उठान गर्नुभएको छ। हामी पनि हेर्छौं, बुझ्छौं र पढ्छौं,’ उनले भने, ‘विषय उठान भएपछि के गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा अगाडि बढ्ने हो। आगामी दिनमा छलफल गर्छौं।’
अभियानका संयोजक सुवेदीले नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना नगरेको दाबी गरे।
उनले केही ऐन तथा कानुनी व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन दलीय आधारमा हुँदै आएको उल्लेख गर्दै त्यसमा संशोधन गरेर गैरदलीय निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताए।
स्थानीय तहलाई राजनीतिक दलको प्रभावबाट अलग राखेर स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने अभियानको मान्यता रहेको उनको भनाइ थियो।
‘नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना गरेको छैन। केही ऐन तथा कानुनको व्यवस्थाका कारण दलीय आधारमा निर्वाचन हुँदै आएको हो,’ उनले भने, ‘ती कानुन संशोधन गर्न सकिने भएकाले अब स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा हुनुपर्छ भन्ने मागसहित आयोगमा ज्ञापनपत्र बुझाएका हौँ।’
अभियानले आगामी स्थानीय तहको निर्वाचनलाई गैरदलीय र स्वतन्त्र बनाउन निर्वाचनसम्बन्धी कानुन संशोधनको प्रक्रिया अघि बढाउन पनि माग गरेको छ ।



प्रतिक्रिया