अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रमुख निर्वाचन आयुक्तको अपिल-चुनावमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्नुस्

प्रमुख निर्वाचन आयुक्तको अपिल-चुनावमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्नुस्


काठमाडौं-प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आव्हान गर्नुभएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन निर्वाचन आयोग सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछ,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावराण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास गर्ने उहाँले बताउनुभएको छ ।

‘निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज आम सञ्चारलगायत सबै सरोकारवालाहरुको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ,’ थपलियाले भन्नुभएको छ ।