काठमाडौं – नेपाल पत्रकार महासंघले महासंघ मकवानपुर शाखा सदस्यद्वय रामकुमार एलन र रमेश बञ्जरामाथि समाचारको विषयलाई लिएर आक्रमण भएको भन्दै आपत्ति जनाएको छ ।
सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका २०/२२ जनाको समूहले आइतबार पत्रकारद्वयमाथि आक्रमण गरेको महासंघले जनाएको छ।
महासंघका अनुसार पत्रकारमाथि आक्रमण भएपछि छुटाउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महसचिव कृष्ण सारु मगरमाथि समेत उक्त समूहले आक्रमण र दुर्व्यवहार गरेको थियो। सो क्रममा महासचिव सारु मगर सामान्य घाइते भएको र पत्रकार एलनको देब्रे कान र दाहिने गालामा चोट लागेको महासंघ मकवानपुर शाखाले जनाएको छ।
‘समाचारको विषयमा चित्त नबुझे या कुनै गुनासो भए कानुनी उपचारमा जान सकिने विकल्पलाई छाडेर पत्रकारमाथि आक्रमणमा उत्रिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो’ महासंघले विज्ञप्ति जारी गरी भनेको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ।’




प्रतिक्रिया