मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसेस्थित हेटौँडा-भैँसे सडकखण्डमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक टाटा सुमो बिहीबार (२०८३ मंसिर ३ गते) बिहान करिब ८ः३५ बजे दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार सडकको घुम्तीमा अनियन्त्रित भएको सुमो करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो। दुर्घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो।
चालकसहित सुमोमा सवार १० जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा तीन जनालाई चिकित्सकले बिहान ९ः२० बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा प्रहरी टोली घटनास्थलमा परिचालन भएको थियो। उद्धार कार्यमा नेपाली सेना र सशस्त्र प्रहरीसमेत सहभागी भएका थिए।
यसअघि गत कात्तिक २६ गते पनि सोही सडकखण्डमा विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। लगातार भएका दुर्घटनाले उक्त सडकखण्डको सुरक्षा अवस्थामाथि पुनः प्रश्न उठाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया