काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्तालाई अनुशासनमा रहेर कार्यक्रमस्थलमा बस्न निर्देशन दिएका छन्। उनले पार्टीको गरिमा र मर्यादा कायम राख्न सबैलाई अनुशासित हुन आग्रह गरेका हुन्।
राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले एमालेजस्तो अनुशासित पार्टीको राष्ट्रिय भेलामा पनि अनुशासन कायम हुनुपर्ने बताए।
बुधबार उद्घाटन तथा बन्दसत्रका क्रममा सहभागीहरू बीचमै हलबाट बाहिरिने र अनधिकृत व्यक्तिहरूसमेत प्रवेश गर्ने गरेको देखिएपछि ओलीले आज सहभागी तथा स्वयंसेवकलाई अनुशासन पालनामा कडाइ गर्न निर्देशन दिएका हुन्।
‘एमालेजस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहेर सञ्चालन हुनुपर्यो,’ उनले भने।
अध्यक्ष ओलीले भेलालाई व्यवस्थित र मर्यादित बनाउन आग्रह गर्दै स्वास्थ्य समस्या भए चिकित्सकको अनुमतिमा मात्र बाहिर जान र शौचालय जानुपर्ने अवस्थामा नजिकैको शौचालय प्रयोग गर्न सहभागीलाई सुझाव दिए।
‘भेलालाई भेला जस्तो बनाउनुपर्छ। हिजो अन्तिममा फाट्टफुट्ट साथीहरू मात्रै हुनुहुन्थ्यो। घरका मान्छेहरूले सोधे भने के गर्ने होला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरू हुनुहुन्छ, उहाँहरूको अनुमतिमा जानुहोला। शौचका लागि नजिकै शौचालयमा जानुहोला। कार्यक्रम सकियो कि सकिएन भन्ने जस्तो भयो,’ ओलीले भने।
उनले सहभागीहरूको उपस्थिति र व्यवहारप्रति असन्तुष्टि जनाउँदै भने, ‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन।’



प्रतिक्रिया