काठमाडौं-पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर बिहीबार बिहान स्वदेश फर्किएका छन्।
रुसको सत्तारुढ दल युनाइटेड रसियाले ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ भन्ने नारासहित आयोजना गरेको सम्मेलनमा सहभागी भएर प्रचण्ड स्वदेश फर्किएका हुन्।
विश्वका ७६ देशका विभिन्न राजनीतिक दलका ४८० जना नेता तथा प्रतिनिधि सहभागी सम्मेलनमा संयोजक प्रचण्डले दुईपटक सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले प्रत्येक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको बताएका थिए।
उनले कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता पूर्ण हुन आफ्नै आर्थिक नीति र विकासका प्राथमिकता स्वतन्त्र रूपमा तय गर्न पाउनुपर्ने धारणा राखेका थिए।
विश्व बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको उल्लेख गर्दै प्रचण्डले सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित विश्व व्यवस्था निर्माण हुनुपर्नेमा जोड दिएका थिए।
‘बाह्य हस्तक्षेपबिना भविष्य निर्धारण गर्ने अधिकार हरेक राष्ट्रलाई छ,’ प्रचण्डले सम्मेलनमा भनेका थिए।
उनले राष्ट्रहरूको सार्वभौमिकता र स्वतन्त्र निर्णय गर्ने अधिकारको सम्मान गरिनुपर्ने धारणा पनि व्यक्त गरेका थिए।



प्रतिक्रिया