काठमाडौँ – दार्चुला घटनामा सरकार मौन रहेकोप्रति नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ। अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
भारतले महाकाली नदीको वहाव नै नेपालतर्फ धकेल्ने गरी सीमा क्षेत्रमा बनाएको पक्की संरचनाको विरोध गर्दै नेपाल सरकारको ध्यानाकर्षण गरेको हो ।
दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारमा रहेको महाकाली नदीको पुल मुनि भारतले एकतर्फी संरचना बनाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध प्रर्दशनमा भारतीय नगरिकहरूले ढुंगा मुढा गर्दा विद्यालयमा अध्ययनरत चार जना विद्यार्थी समेत घाइते भएका थिए ।
भारतले कहिले तुइन काटेर नेपालीको हत्या गर्ने त कहिले ढुंगाले हानेर नेपालीको मृत्यु हुँदा समेत सरकार नबोलेको अनेरास्ववियुको आरोप छ । भारतको एकतर्फी मिचाहा प्रवृत्तिप्रति सरकार मौन बसेको भन्दै अनेरास्ववियुले भत्सर्ना गरेको छ ।
बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो एक वर्षमा मात्र तीन पटक सीमा विवादका कारण स्थानीयहरू बीच वारिपारि ढुंगा हानाहान भई असहज परिस्थिति उत्पन्न हुँदा समेत सरकार मौन छ, उल्टै भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपालीहरूलाई नै निरन्तर दमन र लाठीचार्ज गर्ने नेपाल सरकारको रवैयाप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ ।’
अनेरास्ववियु आफ्नो देशको सीमा र सीमा क्षेत्रका नागरिकहरूको जीवन रक्षा गर्न नेपाल सरकारसँग माग गरेको छ।




प्रतिक्रिया