अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उषा राई मृत्यु प्रकरण : हत्या आरोपमा चारजना महिला पक्राउ

उषा राई मृत्यु प्रकरण : हत्या आरोपमा चारजना महिला पक्राउ


धरान – एकल महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका चार महिलालाई मंगलबार सार्वजनिक गरेको छ ।

धरान–१३ स्थित धार्मिक मार्गमा डेरा गरी बस्ने ४२ वर्षीया एकल महिला उषा राईलाई कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले चारजना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

कुटपिटपछि २८ र ८ वर्षीया छोरीका आमा उषाको मंसिर १३ गते उपचारकै क्रममा मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिनुभएको थियो । सोही जाहेरीको आधारमा चार जना पक्राउ गरिएको र अन्यको खोजी भइरहेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले जानकारी दिनुभयो ।

डीएसपी श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा मुख्य आरोपी धरान–१३, सूर्य मार्ग बस्ने ५५ वर्षीया उर्मिला राई हुनुहुन्छ। उर्मिलाले आफ्नो श्रीमान गोविन्द राईसँग उषा नजिकिएको भन्दै महिलाको समूह बटुलेर गत कात्तिक ३ गते कुटपिट गरेको आरोप लागेको छ । उनलाई मंसिर १५ गते पक्राउ गरिएको र १० दिनको म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताउनु भयो ।

कुटपिटपछि घाइते हुनुभएकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरेर उपचार गर्दा गर्दै मृत्यु भएपछि कुटपिटमा संलग्न अन्य तीन महिलालाई पनि पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार मंसिर १६ गते सोही वडा बस्ने २६ वर्षीया सुमित्रा राई र धरान–१७ बस्ने २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बूलाई मंसिर १८ गते पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

मृतक उषाको दुई वर्षअघि मात्र पतिको मृत्यु भएको थियो । पतिको मृत्युपछि सिलाइ बुनाइको मेसिन किनेर दुई छोरीका साथ बाख्रापालन गर्दै सूर्यमार्गमा टेलर पसल सञ्चालन गरेर जीविका चलाउँदै आउनुभएको थियो ।

प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता रहेको भन्दै जाहेरी परेकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तीन दिनअघि मात्र पोस्टमार्टम गरिए पनि रिपोर्ट भने आइसकेको छैन । पोस्टमार्टम रिपोर्ट आउन अझै एक साता लाग्ने बताइएको छ ।