अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुसुमखोलामा निकुञ्जले भत्काई दियो चेपाङका घर-टहरा

कुसुमखोलामा निकुञ्जले भत्काई दियो चेपाङका घर-टहरा


चितवन – चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा बनाइएका घरटहरा भत्काउने कामलाई निरन्तरता दिइएको छ। निकुञ्जको कुसुमखोलामा बनाइएका नौ घरटहरा भत्काइएको छ । घरटहरासँगै पूजा गर्नका लागि भन्दै बनाइएको मन्दिरको संरचना पनि हटाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना भत्काएको हो । विगत दुई/तीन महिनायता बनाइएका संरचना भत्काइएको उहाँले जानकारी दिनुभयो । विगतदेखि नै रहेको काजीमान प्रजाको घर भने भत्काइएको छैन । काजीमानको सहित १२ घर सो क्षेत्रमा रहेका छन् । ती क्षेत्रमा टहरा बनाएपछि जग्गा पाइन्छ भन्ने हल्ला चलाएर ठाउँठाउँबाट मानिस घरटहरा बनाउन आउने गरेको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले कुसुम खोला जाँदै गरेका कतिपय भेटिएकालाई बगही पोष्टबाट समेत फर्काउने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नियमितरुपमा अवैध ढङ्गले त्यहाँ बनाइएका संरचना भत्काउने गरेका छौँ ।’ सो क्षेत्रमा समयसमयमा संयुक्त सुरक्षा गस्ती पुगेर बनाइएका घर टहरा भत्काउने गरेको उहाँले बताउनुभयो ।

दुई वर्षअघि हात्ती लगाइभत्काउनाका साथै निकुञ्जले सो बस्तीमा आगजनी गरेको थियो । घरटहरामा आगजनी गरेपछि उक्त विषयले ठूलो चर्चा पाएको थियो । पुनःसो क्षेत्रमा बाहिरबाट मानिस गएर बसोबास गर्न थालेका हुन् ।