काठमाडौँ – काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ। ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले खुलामञ्चमा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन मात्र हुन लागेको बताउनुभयो ।
सम्भाव्यता अध्ययनपछि आवश्यकताका आधारमा मात्र बहुतले भवन निर्माण गरिने उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक एवं खुला स्थानको संरक्षण गरिनुपर्नेमा महानगर दृढ रहेको बताउनुभयो । पार्किङका लागि अन्य विकल्प पनि भएको विषयमा पनि छलफल भइरहेको उपप्रख डङ्गोलको भनाइ थियो ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माण गरिए वीर अस्पतालका बिरामीका लागि पनि असर गर्ने भएकाले यस्तो निर्णय फिर्ता लिन आग्रह गर्नुभयो ।
खुलामञ्च र टुँडिखेलको थोरै भागमात्र बाँकी रहेकाले यसको संरक्षण गरेर राखिनुपर्ने बताउनुहुँदै उहाँले राजधानीका धेरै पोखरी, धारा मासिए जसरी खुलामञ्चलाई मास्न नदिने प्रतिबद्धता जनाउनुभयो । अभियानले विसं २०७६ कात्तिक २३ गतेदेखि मुक्त टुँडिखेल अभियान सञ्चालन गर्दै आएको छ ।
ज्ञापनपत्र बुझाउनुहुँदै अभियानका संयोजक विजय श्रेष्ठले यसलाई हल्का रुपमा लिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने बताउनुभयो । दशरथ रङ्गशालाबाट रानीपोखरीसम्मको भागलाई बचाउन अभियानले काम गरिरहेको उहाँले सुनाउनुभयो । प्राकृतिक रिचार्ज क्षेत्रलाई कब्जा गर्नेगरी पार्किङसहितको बहुतले भवन निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव बनाउने तयारी गरिएकामा पनि अभियानले आपत्ति जनाएको छ ।






प्रतिक्रिया