अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षासँगै बाढी-पहिरोको वितण्डा, देशभर कुन-कुन सडक बन्द छन् ?

वर्षासँगै बाढी-पहिरोको वितण्डा, देशभर कुन-कुन सडक बन्द छन् ?


काठमाडौँ-अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। 

शुक्बार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरणअनुसार उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले मुख्य राजमार्गहरूमा रात्रिकालीन सवारी आवागमनमा समेत पूर्ण रोक लगाएका छन्। बागमती प्रदेशअन्तर्गतका धेरैजसो सडक खण्डमा पहिरोको उच्च जोखिम देखिएको छ। ललितपुरको बागमती गाउँपालिकास्थित भटेडाँडा र गोदावरी नगरपालिकाको बर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। 

यसैगरी काभ्रे र सिन्धुली खण्डमा पर्ने बिपी राजमार्गमा असोज ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिकास्थित किम्तिबेँसीमा पहिरो जाँदा बिपी राजमार्ग पूर्ण रूपमा बन्द अवस्थामा छ।

सबैभन्दा व्यस्त रहने नारायणगढ-मुग्लिन सडक खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। 

धादिङको बेनीघाट र कृष्णभिर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध बनाएको छ। रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सडक खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा पनि बाढी र पहिरोले सडक सञ्जाल विच्छेद गरेको छ। पाँचथरको तुम्बेवास्थित नावाखोलामा आएको बाढीले तमोर कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा बाढी आउँदा सिद्धिचरण लोकमार्गमा सवारी साधन चल्न सकेका छैनन्। 

सोलुखुम्बुमा भारी वर्षाको पूर्वानुमान रहेकाले असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण सवारी साधन तथा पैदल यात्रीलाई समेत हिँडडुल गर्न रोक लगाइएको छ। भोजपुरको मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा पनि रात्रिकालीन समयमा सवारी चलाउन पूर्ण रूपमा निषेध गरिएको छ।

गण्डकी प्रदेशअन्तर्गत मनाङ र कास्की जिल्लामा पनि बाढी पहिरोको उच्च जोखिमलाई हेरेर यात्रामा कडाइ गरिएको छ। मनाङको नासो गाउँपालिकास्थित खोत्रोमा पहिरो जाँदा चामे-बेँसीसहर सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। 

बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडकमा असोज १२ गतेसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। कास्कीका ग्रामीण भेगका सम्पूर्ण सडकहरूमा पनि असोज ११ गतेसम्म रात्रिकालीन यात्रा गर्न नपाइने नियम लागु गरिएको छ। 

सम्बन्धित निकायहरूले सम्भावित क्षति रोक्न अत्यावश्यक अवस्थाबाहेक रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।