अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज


चितवन – वन्यजन्तुको विचरणका लागि चितवन राट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्र बनाएको छ। निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो।

अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस आयोजनाअन्तर्गत दुई सय २५ हेक्टर क्षेत्रफमा घाँसेमैदान व्यवस्थापन र निर्माणको काम सुरु गरिएको हो। घाँसेमैदान व्यवस्थापनका लागि रु.३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन भएको तिवारीले बताउनुभयो । उहाँले निकै कम रकममा ठेक्क परेको बताउनुहुदै अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको बताउनुभयो ।

निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ । यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदन व्यवस्थापनको कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । यसका लागि रु.१५ लाख बजेट विनियोजन भएको छ ।

निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भईरहेको छ । पश्चिम क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिए लगत्तै पूर्वी क्षेत्रमा काम सुरु गरिने छ। पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमती लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको तिवारीले बताउनुभयो।चैत महिनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सक्नेगरी काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान रहेको छ। घाँसेमैदान व्यवस्थापनसँगै आहारा प्रजातिका जनावरको सङ्ख्या बढ्ने र जनावर मानवीय बस्ती क्षेत्रमा जानेक्रम कम हुने छ। घाँसेमैदान व्यवस्थापनले मानव र वन्यजन्तुबीचको द्वन्द्वमा समेत कमी ल्याउने अपेक्षा निकुञ्जले लिएको छ ।

Skip This