अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा जडिबुटी संकलन गर्न गएका मुगुका एक जनाको मृत्यु, नौ जना सम्पर्कविहीन

हुम्लामा जडिबुटी संकलन गर्न गएका मुगुका एक जनाको मृत्यु, नौ जना सम्पर्कविहीन


हुम्ला-हुम्लाको चंखेली गाउँपालिका-२ स्थित बागेढुंगा सामुदायिक वनमा जडिबुटी ‘कटुको’ संकलनका लागि पुगेका मुगुका स्थानीयमध्ये एक जनाको हिउँमा परेर मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाका अनुसार मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुको संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भदौ २८ गते १३ जना स्थानीय कटुको संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेका थिए । उनीहरू जडिबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि फर्किएका थिए । फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अ‍ेखबहादुर रोकाय सम्पर्कविहीन छन् ।

त्यस्तै, छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी शेरबहादुर बुढाका अनुसार पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन् ।

स्थानीयका अनुसार मुगुको पाटन क्षेत्रमा जडिबुटी संकलन गरिरहेका उनीहरू हुम्लाको सीमाक्षेत्रमा पुगेपछि दुई समूहबीच विवाद तथा झडपसमेत भएको थियो । असोज १० गते झडप भएको बताइएको छ । मुगुतर्फबाट कटुको संकलन गरिरहेको टोलीलाई हुम्लातर्फको सामुदायिक वन समूहका मानिसले लखेटेको आरोप मुगुका स्थानीयले लगाएका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताए । उनका अनुसार घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भइरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ ।

‘अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।’

हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान अघि बढाएका छन् । सम्पर्कविहीनहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।