काठमाडौं-ग्लोबल आईएमई बैंक लिमिटेडले वित्तीय पहुँच विस्तारसँगै डिजिटल बैंकिङ र अटोमेसनलाई प्राथमिकतामा राखेको छ।
बैंक स्थापनाको दुई दशक हुँदै गर्दा बैंकले वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गरेको छ। बैंकले आगामी असोज १६ गते २०औँ वार्षिक साधारणसभा आयोजना गर्दै छ।
बैंकका अनुसार पछिल्लो समय परम्परागत बैंकिङ प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने दिशामा काम भइरहेको छ।
ग्लोबल आईएमई बैंकको देशभर ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्। विदेशमा तीन प्रतिनिधि कार्यालयसमेत रहेको बैंकले विभिन्न सेवा माध्यममार्फत १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
७ खर्बभन्दा बढी निक्षेप
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७ खर्ब ९ अर्ब ४४ करोड पुगेको छ। सोही अवधिमा बैंकको कुल कर्जा लगानी ४ खर्ब ७६ अर्ब ८४ करोड तथा चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा १५.९० प्रतिशतले बढेको हो।
सोही अवधिमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले वृद्धि भएको छ। निक्षेप तथा कर्जा विस्तारसँगै नाफामा भएको वृद्धिले बैंकको व्यावसायिक आकार थप विस्तार भएको देखाएको छ।
बैंकले आगामी वार्षिक साधारणसभामा सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पेस गरेको छ। साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ।
‘डिजिटल फस्र्ट बैंक’को अवधारणा
दुई दशकको यात्रा पूरा गर्दै गर्दा बैंकले अबको व्यावसायिक रणनीतिमा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको छ।
बैंकले दीर्घकालीन व्यावसायिक रणनीतिअन्तर्गत ‘डिजिटल फस्र्ट बैंक’को अवधारणालाई अघि बढाउँदै बैंकिङ सेवालाई प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको जनाएको छ।
यसअन्तर्गत बैंकले परम्परागत तथा म्यानुअल प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने काम अघि बढाएको छ। बैंकका अनुसार हालसम्म २८ भन्दा बढी डिजिटल वर्कफ्लो कार्यान्वयनमा ल्याइसकिएको छ।
यसले विभिन्न बैंकिङ प्रक्रियामा हुने म्यानुअल हस्तक्षेप घटाउन सहयोग गरेको बैंकको भनाइ छ।
डिजिटल वर्कफ्लोमार्फत हालसम्म ४६ हजारभन्दा बढी सेवा अनुरोध प्रशोधन गरिएको बैंकले जनाएको छ। यसबाट बैंकको आन्तरिक कार्यप्रवाहमा डिजिटल प्रणालीको प्रयोग विस्तार हुँदै गएको देखिन्छ।
१६ वटा व्यावसायिक प्रक्रियामा आरपीए
बैंकले दोहोरिने प्रकृतिका कामलाई स्वचालित बनाउन रोबटिक प्रोसेस अटोमेसन (आरपीए)को प्रयोग विस्तार गरेको छ। हाल आरपीएलाई १६ वटा व्यावसायिक प्रक्रियामा प्रयोग गरिएको बैंकले जनाएको छ।
आरपीए तथा अन्य अटोमेसन प्रविधिको प्रयोगमार्फत नियमित तथा दोहोरिने कामलाई स्वचालित बनाउँदै कर्मचारीको समयलाई सिर्जनशील तथा थप मूल्य सिर्जना गर्ने काममा उपयोग गर्ने आधार तयार गरिएको बैंकको भनाइ छ।
बैंकले आगामी दिनमा विजनेस प्रोसेस म्यानेजमेन्ट (विपिएम), आरपीए, तथा स्ट्रेट–थ्रो प्रोसेसिङ (एसटीपी)को प्रयोग थप विस्तार गर्ने योजना अघि सारेको छ। डिजिटल प्रविधिलाई ग्राहक सेवामा मात्र सीमित नगरी आन्तरिक सञ्चालन दक्षता तथा लागत व्यवस्थापनमा समेत प्रयोग गर्ने बैंकको रणनीति छ।
कल सेन्टरदेखि एआईसम्म
ग्राहक सेवा सुधारका लागि बैंकले ग्राहक सम्बन्ध व्यवस्थापन प्रणालीको विस्तार गरेको छ। यसबाट ग्राहकका सेवा अनुरोधलाई व्यवस्थित रूपमा दर्ता, ट्रयाक तथा समाधान गर्ने प्रणाली थप सुदृढ भएको बैंकले जनाएको छ।
बैंकले २४ सै घण्टा कल सेन्टर सञ्चालन गर्दै ग्राहकलाई समयमै सेवा तथा सहायता उपलब्ध गराउँदै आएको छ।
त्यसैगरी, बैंकले ग्लोबर जिपिटी तथा डकुमेन्ट क्वेरिज सिस्टम (डिक्यूसी)जस्ता एआईमा आधारित प्रणालीमार्फत कर्मचारीलाई आवश्यक संस्थागत सूचना तथा दस्तावेजमा छिटो पहुँच पुर्याउने प्रयास गरिरहेको छ।
बैंकले आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग ग्राहक सेवा, कर्मचारीको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा जोखिम व्यवस्थापनसम्म विस्तार गर्ने योजना बनाएको बताएको छ।
डिजिटल बैंकिङ विस्तारसँगै बैंकले ग्लोबल स्मार्ट प्लसलाई थप सुविधायुक्त बनाउँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, आईपीओ आवेदनलगायत विभिन्न वित्तीय सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्दै आएको छ।
आगामी आर्थिक वर्षमा बैंकले पूर्ण क्षमताको डिजिटल शाखा स्थापना गर्ने तथा डिजिटल लेन्डिङ क्षमता विस्तार गर्ने योजना अघि सारेको छ।
बैंकका अनुसार डिजिटल अटोमेसन, एआई र डिजिटल वर्कफ्लोलाई एकीकृत रूपमा अघि बढाउँदै सेवा प्रवाहको गति बढाउने, सञ्चालन दक्षता सुधार गर्ने, म्यानुअल प्रक्रिया घटाउने र दीर्घकालीन व्यावसायिक दिगोपन हासिल गर्ने लक्ष्य लिइएको छ।



प्रतिक्रिया