काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले अर्थतन्त्रका समस्या पहिचानकै क्रममा रहेको र चाँडै समाधानका ठोस योजना लिएर आउने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र: अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले यसअघिसमेत नेपालले ठूलाठूला समस्या भोगेको भए पनि अर्थतन्त्रमा अहिलेको जस्तो सङ्कुचन नदेखिएको बताउनुभयो ।
‘नेपालले यसअघि धेरै प्रहार सहन गरेको छ । भूकम्पको प्रहारलगत्तै नाकाबन्दीको प्रहार नेपालले भोगेको छ । कोभिड महामारीका बेला पनि अर्थतन्त्र जेनतेन धान्यो’, अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अहिले कोभिड, भूकम्प, नाकाबन्दी छैन । तर हामी आर्थिकरूपमा चिन्ताजनक अवस्थामा कसरी पुगियो भन्ने जबर्जस्त प्रश्न देखिएको छ ।’
भूकम्प र नाकाबन्दीमा समेत धेरै नखुम्चिएको नेपालको अर्थतन्त्र अहिले के कारणले धर्मराएको हो भनेर समस्या पहिचान भइरहेको उहाँको भनाइ छ । अर्थतन्त्रमा देखिएका समस्याका कारणको सूक्ष्म विश्लेषण गर्दै समाधानका लागि आफू लागिरहेको पनि पौडेलले बताउनुभयो।
‘अर्थतन्त्रलाई सूक्ष्म ढङ्गले हेरेर समस्या पहिचानकै क्रममा छु। समस्या कसरी देखियो भन्ने प्रश्नको जवाफ नखोजिकन हामी यसलाई समाधान गर्न सक्दैनौँ। त्यसकारण म सार्थक र निर्णायक समाधान खोज्ने क्रममा छु’, अर्थमन्त्री पौडेलले भन्नुभयो।
अहिले सरकारको राजस्व परिचालन र पूँजीगत खर्च चिन्ताजनक अवस्थामा रहेको बताउँदै उहाँले करको दायरा बढाउने, कर प्रशासन चुस्त बनाउने र खपत बढाउनका लागि सरकारले काम गर्ने बताउनुभयो । त्यस्तै, पूँजीगत खर्चलाई कसरी बढाउन सकिन्छ भनी सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । नयाँ सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक खर्च कटौतीको निर्णय गरेको उल्लेख गर्दै उहाँले मितव्ययी र आर्थिक अनुशासन पालनाका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभयो।
त्यस्तै सरकारले निजी क्षेत्रसँग वैरभाव राख्ने नभई आत्मविश्वास बढाएर अघि बढ्ने नीति लिएको पनि मन्त्री पौडेलले उल्लेख गर्नुभयो। ‘सरकार निजी क्षेत्रको अविभावकको भूमिका निर्वाह गर्छ। एक/एक समस्या पहिचान गरेर समाधान गर्न तयार छ। तर निजी क्षेत्रले पनि सरकारका समस्या बुझिदिन प¥यो’, उहाँले भन्नुभयो।






प्रतिक्रिया