अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार

फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार


काठमाडौं – सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित हुनुभएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई रु.५० हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो।

प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो हुनुभयो । उहाँहरुले क्रमशः जनही रु.३५ हजार र २५ हजार प्राप्त गर्नुभयो ।

नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा शुक्रबार आयोजित फोटो प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त गर्न सफल फोटो पत्रकार वर्षा साहलाई नगदसहित प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा ।

प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले रु.१० राशिसहित सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतियोगितामा पुरस्कारका लागि छनोट भएका अन्य प्रतियोगीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा सैनिकतर्फ १४ नं बाहिनी प्रथम, विकास निर्माण निर्देशनालय द्वितीय र दुर्गा बक्स गण तृतीय घोषित भए । सैनिक, गैरसैनिक र व्यवसायीबाट उक्त प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा सैनिकतर्फ एक हजार पाँच सय र गैरसैनिकतर्फ १४५ वटा तस्बिर प्राप्त भएको बताइएको थियो । सोही समारोहमा प्रधानसेनापति शर्माले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको उद्घाटन पनि गर्नुभएको थियो ।

प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाकलगायत विभिन्न विधा समेटिएको छ । सेनाको इतिहासदेखि वर्तमानसम्म एउटै थलोबाट सबैलाई जानकारी होस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।

नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसर पारेर पछिल्ला वर्षमा यस प्रकारका प्रदर्शनी गर्दै आएको छ । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष महाशिवरात्रि आगामी फागुन ६ गते परेको छ ।

Skip This