अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो काम: स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो काम: स्वास्थ्यमन्त्री गिरी


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभएको छ।

मङ्गलबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री गिरीले यस्तो बताउनुभएको हो । उहाँले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र सङ्कल्प रहेको बताउनुभयो ।

‘पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दैछ । यही स्थान तीनसय बेडको अस्पताल स्थापना गर्छौँ । यो खुसीको कुरा हो । तीन सय बेड पनि पर्याप्त होइन पाँचसय बेडको बनाउनुपर्छ। पछिल्ला दिनमा हामी थप्दै जानेछौँ। यो बीचमा यो अस्पतालले उपयुक्त स्थानमा सम्पूर्ण उपचार गर्नेगरी अस्थायी रूपमा भएपनि उपचारको व्यवस्था गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ। हामी सबैको एउटै सङ्कल्प छ, त्यो भनेको तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हो, स्वास्थ्यका प्रणालीहरू कसरी चुस्त, दुरुस्त बनाउने भन्ने हो ।’

मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरू चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरूलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको धारणा व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य सेवालाई चुस्त बनाउनका लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको जानकारी दिनुभयो।

त्यस्तै, मन्त्री गिरीले नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा साबित गर्ने बनाउनु आफ्नो दायित्व भएको बताउनुभयो ।

‘हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरूलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रूपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो। सबै लाग्यौँ भने असम्भव छैन, नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा साबित गर्ने हाम्रो दायित्व हो, कोही पनि विमुख हुने छैनौँ,’ मन्त्री गिरीले भन्नुभयो।

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पुर्‍याउनु आफ्नो पहिलो काम भएको बताउनुभयो ।

Skip This