काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिट्टबीच आज भेटवार्ता भएको छ।
भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिनुभयो ।
उहाँले विपदको घडीमा ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखराको भवनको रेट्रोफिटिङ भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने बताउनुभयो ।
उहाँले आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि गर्न यसले योगदान पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (एनएचएस–एपी) कार्यान्वयन गर्नका लागि आर्थिक एवम् प्राविधिक सहायता निरन्तर प्राप्त हुने बताउनुभयो ।
राजदुत निकोलाले वर्षौँदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
प्रतिक्रिया