अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीमै बसेर अन्तर्घात गर्नेलाई कारबाही गर्ने अध्यक्ष ओलीको चेतावनी

पार्टीमै बसेर अन्तर्घात गर्नेलाई कारबाही गर्ने अध्यक्ष ओलीको चेतावनी


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता-कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीविरुद्ध जालझेल, षड्यन्त्र र तिकडम गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

शनिबार च्यासलमा आयोजित एमाले बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा रहने तर मत अन्य दलका उम्मेदवारलाई दिने प्रवृत्ति बेइमानी भएको बताए।

‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले पार्टीविरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि अब चुप लागेर नबस्न निर्देशन दिँदै त्यस्ता व्यक्तिलाई स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्यका आधारमा कारबाही गर्नुपर्ने बताए। जिल्लास्तरमै पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गरी केन्द्रमा सिफारिस पठाउन पनि उनले निर्देशन दिए।

पार्टीभित्रका अन्तर्विरोध, मनमुटाव र असमझदारी आपसी छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उनले जिल्ला, पालिका र वडा तहसम्म बैठक आयोजना गरी सङ्गठनलाई एकताबद्ध बनाउन आग्रह गरे। नेता तथा कार्यकर्ताहरू जनतामाझ पुग्न नसकेको भन्दै पार्टीका विचार, सदाचार र इमानदारी स्थापित गर्न सङ्गठनात्मक गतिविधि प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले फागुन २१ गतेको निर्वाचनमा पार्टीका सङ्गठित सदस्यको सङ्ख्याभन्दा कम मत प्राप्त भएको विषयमा पनि असन्तुष्टि जनाए। अध्यक्ष ओलीले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै सक्रिय भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

बैठकमा एमालेका सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना हुने भेलाका विषयमा छलफल हुने जानकारी दिएका थिए। बैठक आइतबारसम्म सञ्चालन हुने जनाइएको छ।