काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगतको प्रतिनिधिसभा निर्वाचनको तुलनामा आगामी निर्वाचनहरू पार्टीका लागि अनुकूल बन्दै गएको दाबी गरेका छन्। अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा गम्भीरतापूर्वक जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा मात्र नलिई राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडेर रणनीतिक रूपमा तयारी गर्नुपर्ने बताए।
स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका मतदाता हुने र प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता हुने उल्लेख गर्दै उनले यी निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा समेत दूरगामी प्रभाव पार्ने बताए।
‘स्थानीय तहको निर्वाचन केवल स्थानीय सरकार बनाउने कुरा मात्र होइन, यसले राष्ट्रिय सभा र राष्ट्रपति निर्वाचनका लागि समेत मतदाता तयार गर्छ। हाम्रा अगाडि आउँदै गरेका स्थानीय तह, प्रदेशसभा, राष्ट्रिय सभा र राष्ट्रपतिका निर्वाचनहरू एकापसमा जोडिएकाले हामीले योजनाबद्ध ढङ्गले लाग्न जरुरी छ,’ अध्यक्ष ओलीले भने, ‘अहिले विगतको तुलनामा हाम्रा लागि अनुकूल वातावरण पनि छ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै स्थानीय तहलाई केन्द्रमा राखेर पार्टी संगठन सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए। विगतका निर्वाचनमा पार्टीभित्र आपसी एकता र समन्वयको अभाव हुँदा अपेक्षित परिणाम हासिल गर्न नसकिएको उल्लेख गर्दै उनले पार्टी हितविपरीत गतिविधि गर्ने तथा निर्वाचनमा असहयोग गर्नेहरूलाई वडा तहबाटै कारबाही गर्नुपर्ने बताए।
यसैबीच, अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैली अझै स्वेच्छाचारी रहेको आरोप लगाएका छन्। गत फागुनमा सम्पन्न निर्वाचनलाई गत भदौ २३ र २४ गते भएको अराजकतालाई वैधानिकता दिने उद्देश्यले राज्यशक्तिको दुरुपयोग गरी गराइएको उनको दाबी थियो।
अध्यक्ष ओलीले उक्त निर्वाचनमा राज्यसंयन्त्रकै प्रयोग गरेर शान्तिपूर्ण रूपमा बुथ कब्जा गरिएको आरोपसमेत लगाए।



प्रतिक्रिया