काठमाडौं-नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेता तथा उनीहरूका निवासलाई योजनाबद्ध रूपमा निसाना बनाइएको आरोप लगाएका छन्।
शनिबार ललितपुरमा कांग्रेस संस्थापनइतर समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन गर्दै देउवाले आन्दोलनका क्रममा कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निसाना बनाइएको बताएका हुन् ।
उनले आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको पुर्ख्यौली घर तथा कृष्णप्रसाद भट्टराईको आश्रममा समेत आगजनी गरिएको स्मरण गरे । अन्य दलका नेताहरूका घरमा त्यस्ता घटना नभएको उल्लेख गर्दै उनले कांग्रेस र एमालेका नेताहरूलाई मात्र लक्षित गरिनु सामान्य घटना नभई षड्यन्त्र हुन सक्ने बताए ।

‘अन्य पार्टीका नेताहरूका घरमा त्यस्तो घटना भएन । एमाले र कांग्रेसका नेताहरूलाई मात्र छानीछानी निसाना बनाइएको देखियो,’ देउवाले भने, ‘त्यसैले यो घटनालाई सामान्य रूपमा मात्र लिन मिल्दैन ।’
यसैगरी, देउवाले नेपाली कांग्रेसलाई कसैले हाइज्याक गर्न वा आफ्नो कब्जामा लिन नसक्ने दाबी गरे । कांग्रेस जनता, देश र राष्ट्रको पार्टी भएकाले जनताका प्रतिनिधिबाहेक कसैले पनि पार्टीलाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने उनको भनाइ थियो । पार्टी मनोमानी ढङ्गले नभई विधि, विधान र पद्धतिअनुसार सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।
आफू पटकपटक प्रधानमन्त्री बन्नुमा पार्टीको योगदान रहेको उल्लेख गर्दै देउवाले कांग्रेसका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । संकटका विभिन्न घडीमा पार्टीलाई जोगाएर यहाँसम्म ल्याउन लाखौँ कार्यकर्ताको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।
पार्टीभित्रको विवादबारे बोल्दै देउवाले अदालतबाट आफूहरूलाई नै न्याय मिल्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया