धनुषा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तनको अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न नआउने बताएका छन्। उनले जनताले ठूलो आशा, भरोसा र विश्वासका साथ दिएको अवसरलाई खेर जान नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा र आफ्नै पार्टी नेतृत्वको सरकारबीच कुनै विवाद वा समस्या नरहेको स्पष्ट पारे। सरकारलाई पार्टीले दिने सल्लाह, सुझाव र रचनात्मक आलोचनालाई लिएर बाहिर फैलाइएका हल्लामा विश्वास नगर्न उनले आग्रह गरे।
सरकार आफ्ना प्रतिबद्धता र वाचा पूरा गर्न दृढतापूर्वक लागिरहेको उल्लेख गर्दै उनले सरकारको आलोचना वा सुझाव दिनुलाई पार्टीभित्रको विवाद अथवा फुटको सङ्केतका रूपमा बुझ्न नहुने बताए। रास्वपा लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने पार्टी भएकाले आन्तरिक बहस, छलफल र आलोचनालाई बलियो आन्तरिक लोकतन्त्रको उदाहरणका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
पार्टीभित्र पक्ष र विपक्षमा हुने बहस तथा छलफललाई नेतृत्वले सकारात्मक रूपमा लिने गरेको उनले बताए। आफ्नै सरकारलाई सल्लाह, सुझाव र रचनात्मक आलोचना गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको जिकिर थियो।
मधेसका जनताको अपेक्षा र परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै लामिछानेले भने, ‘यस पटक जनताले रास्वपालाई ठूलो भरोसाका साथ अवसर दिएका छन्। अहिले पाएको जनमतबाट पनि मधेसले परिवर्तनको आशा र अनुभूति गर्न सकेन भने म अर्को पटक यहाँ भोट माग्न आउने छैन।’
जनतालाई झुक्याएर मत माग्ने चरित्र स्थापित हुने राजनीति आफूलाई स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे। मधेसी जनताको जीवनमा सार्थक परिवर्तन ल्याउने आशा, भरोसा र विश्वासका साथ प्राप्त अवसरलाई धोका नदिन उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।



प्रतिक्रिया