अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्छ: योगेश भट्टराई

यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्छ: योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद भट्टराईले यस्तो बताउनुभएको हो। उहाँले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरूको नियमन गर्न जरुरी रहेको बताउनुभयो।

उहाँले रोड सेफ्टी एक्शन प्लान, २०२१ लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको धारणा औँल्याउनुभयो। उहाँले भन्नुभयो, ‘हामीले एउटा रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ। त्यसले सडक विभागले गरेका कामहरूको पनि नियमन गर्छ। अनुगमन गर्छ, यातायात व्यवस्था विभागको पनि अनुगमन गर्छ। यी कामहरू आज हुन सकेका छैन। यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्नेछ। रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्नेछ। रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्नेछ । हेलमेटको गुणस्तरको जाँच गर्नुपर्छ ।’

सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताउनुभयो ।

सांसद भट्टराईले शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भनेपनि सो अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘विश्वको अध्ययनले के देखाउँछ भने दुई पाङ्ग्रे सवारी साधनमा मृत्यु हुनेको मुख्य कारण हेलमेटको गुणस्तर हो । ७० प्रतिशत मानिसहरू कमजोर हेलमेट प्रयोग गरेका कारणले मृत्यु भइरहेका छन्। अधिकांश दुई पाङ्ग्रे सवारीसाधनमा मृत्यु पछाडि बस्ने यात्रुको हुन्छ । सहरमा सुरक्षित साइकल लेनको कुरा छ।’

 उहाँले भन्नुभयो, ‘व्यवस्थित फुटपाथको कुरा छ। ह्वीलचियरमैत्री, अपाङ्गमैत्री बजाउने हाम्रो राज्यको निर्देशक सिद्धान्तले भनेको छ तर हाम्रा कुनैपनि सडकहरू अपाङ्गमैत्री छैन, त्यसतिर ध्यान दिनुपर्छ। आधुनिक र सभ्य सडक बनाउनु पर्छ ।’

सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग राख्नुभयो ।