अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेश र अन्तरजिल्लाबाट मतदानको व्यवस्था गर्न निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

विदेश र अन्तरजिल्लाबाट मतदानको व्यवस्था गर्न निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै


काठमाडौं-विदेशमा रहेका नेपाली नागरिक तथा अन्तरजिल्लाबाट मतदान गर्न पाउने व्यवस्था मिलाउने विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

आयोगले शुक्रबार आफ्नो केन्द्रीय कार्यालय, काठमाडौंमा तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेको हो। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बिहान साढे ११ बजेपछि सुरु हुने छलफलमा ४० भन्दा बढी राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको छ।

छलफलमा विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्लाबाट मतदानको व्यवस्था मिलाउने विषयसँगै निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे पनि दलहरूसँग राय लिइनेछ।

सूचना अधिकारी घिमिरेका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४७ को व्यवस्थाअनुसार राजनीतिक दलहरूसँग छलफल गर्न लागिएको हो। छलफलबाट आवश्यक सुझाव संकलन गरी आयोगले यस विषयमा निचोडमा पुग्ने तयारी गरेको छ।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिनुपर्ने तथा आफू मतदाता नामावलीमा रहेको जिल्लाभन्दा अन्य जिल्लाबाट पनि मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ। तर, आवश्यक कानुनी व्यवस्था तथा निर्वाचन व्यवस्थापनसम्बन्धी पूर्वाधारको अभावमा अहिलेसम्म उक्त माग कार्यान्वयन हुन सकेको छैन।

आयोगले यससम्बन्धी आवश्यक कानुनी व्यवस्था गर्न एकीकृत कानुनको मस्यौदासमेत तयार गरी लामो समयअघि गृह मन्त्रालयमा पठाएको थियो। तर, उक्त मस्यौदा गृह मन्त्रालयबाट अघि बढ्न नसक्दा विदेश तथा अन्तरजिल्लाबाट मतदानको व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन।