अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


धनगढी – सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्‍वासको मत पाउनुभएकाे छ । शाहले आइतबार प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खसेको छ।  विपक्षमा ११ मत खस्यो। विश्वासको मतका लागि २७ मत आवश्यक थियो।

मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस,नेकपा माओवादी, नागरिकत उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र राप्रपा र स्वतन्त्र सांसदले मत दिएका थिए। नेकपा एमालेका सांसदहरूले विपक्षमा मतदान गरे।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्। 

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट बहुमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । 

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार सोही दिन ढलेको थियो।

मुख्यमन्त्री भएको भोलिपल्ट नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएका शाहले मन्त्रिमण्डल विस्तार गर्नुभएकाे छैन। विश्वासको मत पाएसँगै मन्त्रिपरिषद विस्तार गर्ने उहाँको तयारी छ।

अहिले सरकारमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादीबाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्छ ।