अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्खास्तीमा परेका सशस्त्रका एआइजी दाहालले दिए पुनरावेदनको निवेदन

बर्खास्तीमा परेका सशस्त्रका एआइजी दाहालले दिए पुनरावेदनको निवेदन


काठमाडौं-बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनरावेदन गरेका छन्।

दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएका हुन्। उनले आफूलाई बर्खास्त गर्ने निर्णयमाथि पुनर्विचार गरी कारबाही फुकुवा गर्न माग गरेका छन्।

सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार विभागीय कारबाहीमा परेको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार दाहालले निर्धारित समयभित्रै निवेदन दिएको स्रोतले जनाएको छ।

नियमावलीअनुसार एआईजी तहका अधिकारीलाई विभागीय कारबाहीको सजाय आदेश दिने अधिकारी गृहमन्त्री हुन् भने पुनरावेदन सुन्ने अधिकारी नेपाल सरकार हो। त्यसैले दाहालको पुनरावेदनमाथि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ।

सरकारले गत असोज २३ गते दाहाललाई आचरणसम्बन्धी विषय पटक–पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्‍याएको कसुरमा सेवाबाट हटाउने निर्णय गरेको थियो।

चार वर्षे पदावधिका कारण दाहाल असोज २७ गते अवकाशमा जाँदै थिए। तर, अवकाश हुनुअघि नै सरकारले उनीमाथि विभागीय कारबाही गरेको थियो। यसअघि सरकारले असोज १९ गते उनलाई निलम्बन गरेको थियो।

इनाम सापकोटा नामका व्यक्तिसँग सुरक्षासम्बन्धी संवेदनशील विषयमा कुराकानी गरेको तथा सम्पर्कमा रहेको आरोपमा उनीमाथि कारबाही गरिएको थियो। सापकोटा हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

यसअघि प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई समेत पक्राउ गरेर १२ घण्टापछि रिहा गरेको थियो। पक्राउ परेकै रात एआईजी दाहाल जबरालाई भेट्न पुगेका थिए। उक्त घटनाक्रम र इनाम सापकोटासँगको सम्पर्कलाई समेत सरकारले दाहालमाथिको कारबाहीसँग जोडेको थियो।

अब मन्त्रिपरिषद्ले दाहालको पुनरावेदनमाथि गर्ने निर्णयले उनको बर्खास्ती कायम रहने वा फुकुवा हुने भन्ने टुंगो लगाउनेछ।