अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसमी छिचिमिरासँग एमाले डराउँदैन: अध्यक्ष ओली

मौसमी छिचिमिरासँग एमाले डराउँदैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक दललाई ‘मौसमी छिचिमिरा’ को संज्ञा दिँदै उनीहरूसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।

एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ राजनीतिक दल र तिनका गतिविधिसँग एमाले डराउन नहुने भन्दै मौसमी छिचिमिराको उदाहरण दिएका थिए।

‘बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन। यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छन्। कतिपय आफैँ भुइँमा झर्छन्,’ अध्यक्ष ओलीले भने, ‘यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ।’

अध्यक्ष ओलीले निर्वाचनमा पार्टीले बेहोरेको पराजयलाई निर्वाचन परिणामका आधारमा मात्रै विश्लेषण गर्न नहुने बताए। अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार विस्थापनका लागि तयार पारिएको राजनीतिक वातावरण र निर्वाचनपूर्व भएका ध्वंस तथा आक्रमणका घटनालाई पनि विश्लेषण गर्नुपर्ने धारणा राखे।

‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विश्लेषण नगरी राजनीति बुझिँदैन,’ अध्यक्ष ओलीले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नुपर्दछ। त्यति नबुझी राजनीति बुझिँदैन।’

अध्यक्ष ओलीले एमालेको सरकार आन्तरिक कमजोरीका कारण मात्रै विस्थापित भएको र निर्वाचनमा पराजय बेहोर्नुपरेको निष्कर्ष निकाल्नु गलत हुने बताए। सामाजिक सञ्जालमा एल्गोरिदमको प्रयोग गरेर पार्टीलाई जनताबाट टाढा पुर्‍याइएको र एमालेविरुद्ध घृणा फैलाइएको उनको आरोप थियो ।

‘एल्गोरिदम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्‍याइयो,’ अध्यक्ष ओलीले भने, ‘हामीप्रति घृणा फैलाएर, अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो।’

अध्यक्ष ओलीले समाजमा फैलिएका भ्रम र निराशा चिर्दै जनतामा नयाँ आशा र उत्साह जगाउने अभियानको नेतृत्व पनि एमालेले गर्ने बताए । समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने जिम्मेवारी पार्टीले लिने उनको भनाइ थियो।