अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलामाथि हुने दुर्व्यवहार र हिंसा दुरुत्साहनलाई निरुत्साहन गर्नुपर्छ: अध्यक्ष ओली

महिलामाथि हुने दुर्व्यवहार र हिंसा दुरुत्साहनलाई निरुत्साहन गर्नुपर्छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि हुने दुव्र्यवहार र हिंसा जस्ता दुरुत्साहनलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभएको छ।

एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महिलामाथि दुव्र्यवहार, लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गरी अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अज्ञानता र कुरीतिको आड लिएर हुने खराब अभ्यासका कारण बोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेको उल्लेख गर्नुभयो । “समाजको न्यून चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरु कायम छन् । कानूनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरुलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसका लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ”, उहाँले सन्देशमा भन्नुभएको छ।

उहाँले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुसरणीय रहँदै आएको भन्दै ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको बताउनुभयो । उहाँले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीको समान सहभागिता अत्यन्त जरुरी रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । “महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मूलतः शिक्षामा जोड दिँदै महिलाको सशक्तिकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा म हार्दिक आह्वान गर्दछु”, सन्देशमा भन्नुभएको छ ।

अध्यक्ष ओलीले राजनीतिक अस्थिरतामार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि एमालेले अघि बढाएको अभियान कमजोर बनाउने दुष्प्रयास अहिले पनि जारी बताउनु भएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्धतन्त्रलाई धराशयी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरु बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ ।”