काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई व्यक्तिगत कमजोरी र खराब बानी त्यागेर जनताको सेवामा समर्पित हुन आग्रह गरेका छन्।
शुक्रबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न निर्देशन दिए।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै अध्यक्ष ओलीले पार्टीले तोकेको जिम्मेवारीमा पूर्ण क्षमताका साथ काम गर्ने विश्वास व्यक्त गरे। उनले पार्टी र जनताप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।
‘पार्टीले तोकेको जिम्मेवारीमा जानुहुनेछ र जिम्मेवारी पूरा गर्न सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले राजनीतिक यात्रामा कहिलेकाहीँ पार्टीले धक्का खान सक्ने भए पनि त्यसबाट पुनः उठ्न सकिने उल्लेख गर्दै नेताहरूलाई अनुशासित र आदर्श व्यवहार प्रदर्शन गर्न आग्रह गरे।
‘हामी आदर्श व्यक्तिका रूपमा स्थापित हुनुपर्छ। गलत आनीबानी र आचरण लिनु हुँदैन। नेकपा एमालेको आचरण पवित्र र शुद्ध हुनुपर्छ,’ उनले भने, ‘मेरो त रिसाउने बानी छ भनेर नेता भएपछि पाइँदैन। रिसाउने बानी भए घरको खोपामा राख्नुस्।”
अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार समाजका लागि नमुनायोग्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट मनोनीत ३३ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
शपथ लिनेहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विष्ट रहेका छन्।



प्रतिक्रिया