अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले फेरि उठ्छ, अझ बलियो भएर अघि बढ्छ: अध्यक्ष ओली

एमाले फेरि उठ्छ, अझ बलियो भएर अघि बढ्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई थप सुदृढ र संगठित बनाए वर्तमान चुनौती तथा धक्काबाट माथि उठ्न सकिने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान उद्देश्य बोकेर अघि बढेको पार्टीलाई विभिन्न समयमा धक्का लाग्न सक्ने भए पनि त्यसबाट निराश हुन नहुने बताए।

अध्यक्ष ओलीले देश विकासको अभियानमा अघि बढिरहेको एमालेलाई विकास हुन नदिने शक्तिहरूले अवरोध सिर्जना गर्ने प्रयास गरिरहेको दाबी गर्दै पार्टी पंक्ति फराकिलो सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले देशमा प्रतिगमनका प्रवृत्ति देखिएको र पार्टीले पनि विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै सानातिना विवादमा अल्झिनुको सट्टा संगठनलाई बलियो बनाउँदै अघि बढेमा एमाले फेरि उभिन सक्ने र विगतभन्दा अझ सशक्त बन्न सक्ने विश्वास व्यक्त गरे।

उनले शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूलाई नेतृत्वदायी भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्दै समाजमा आदर्श व्यक्तित्वका रूपमा स्थापित हुनुपर्ने बताए। गलत आचरण त्याग्दै पवित्रता, शुद्धता, कम्युनिष्ट संस्कार, शालीनता र विनम्रता प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले अहिले सूचना प्रविधिको युग भएकाले नेता तथा कार्यकर्ताले आधुनिक प्रविधि, डिजिटल माध्यम र समसामयिक परिवेशबारे पर्याप्त जानकारी राख्नुपर्ने बताए। उनले बदलिँदो समयअनुसार आफूलाई अद्यावधिक गर्दै संगठनात्मक गतिविधि सञ्चालन गर्न निर्देशन समेत दिए।